धरानः नेकपा एमाले विद्रोह गरी स्वतन्त्रबाट बागी उम्मेदवारी दिएका धरानका पूर्व मेयर मनोज मेन्याङ्वोले ठूला दलको निरंकुशता र स्वेच्छाचारीलाई यसपटक भत्काउने बताएका छन् ।
मङ्गलबार आफै हर्ताकर्ता भएर निर्माण गरेको घण्टाघर र सब्जी बजार हटाएर सफाचट पारिएको खाली जमीन (ट्याक्सी स्टेण्ड) मा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
एमालेले दिएको आदेश आफूलाई मान्य नभएर आफू चुनावी मैदानमा होमिएको बताउँदै उनले यसपटक एमालेले दिएको आदेशलाई मतले जवाफ फर्काउने बताए ।
खरायो चुनाव चिन्ह लिएर चुनावमा होमिएका उनले आफू उपमेयर हुँदै मेयरसम्म भएर अनुभवी सङ्गालिसकेको हुनाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि विजयी गराउनेमा आफू ढुक्क रहेको बताए ।
उनले ठूला पार्टीका कारण आफ्नो नेता पनि चुन्न पाउन छोडेको बताए । ‘यो विडम्वना त थियो, थियो, कांग्रेस र एमालेका नेता–कार्यकर्ताहरुले आफ्नो नेता पनि चुन्न पाउन छोडे’, उनले थपे, ‘ठूलाबडा हुँ भन्ने नेताहरुले जे आदेश गर्छ, त्यो मान्नुपर्ने, कसैलाई छोरी बनाएर पठाउँछन्, कसैलाई साथी बनाएर पठाउँछन्, कसैलाई गठबन्धन गरेर पठाउँछन्, त्यसलाई हामीले मान्दिनुपर्ने, मित्रहरु तपाईलाई एमाले र कांग्रेसका यो व्यवहार मान्य छ, मलाई लाग्छ छैन ?’
एमाले र कांग्रेसले आफ्नो र सुनसरीबासीको भावनामाथि कहिल्यै कदर नगरेको उनले बताए । उनले धरान र सुनसरी जिल्लाले नै अहिलेसम्म ठूला बजेट र कार्यक्रम प्राप्त गर्न नसकेको बताए ।
एमालेको साधारण सदस्य पनि नरहने गरी पार्टी छाडेको उल्लेख गर्दै उनले एमाले र काँग्रेस कार्यकर्ताको भावना बुझ्ने उम्मेदवार आफू मात्र भएको बताए । एमाले जसपा गठबन्धनका उम्मेदवार अशोक राईप्रति कटाक्ष गर्दै उनले गठबन्धनको नाममा दोहन गर्न खोजिएको उनले बताए । उनले जसपाका नेता, कार्यकर्ताको समेत आफूमा समर्थन रहेको दावी समेत गरे ।
उनले आफू ५८ वर्ष पुगिसकेकोले अब कहिल्यै एमालेमा नफर्किने पनि बताए । ‘थुकेको थुक चाट्दिनँ’, उनको भनाइ थियो । उनले आफू जनताको सेवक बन्न उम्मेदवार भएकोले ५ वर्षका लागि धरानले सम्झिरहने खालको काम गर्ने बताए । उनले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीलाई पनि बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु गिरिधारी सापकोटा, अशोक ताम्राकार, मोहनकाजी शाक्य, पवन अग्रवालको समेत कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा कांग्रेसका स्थानीय नेता प्रेमप्रसाद पराजुली, सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गिरीधारी सापकोटालगायतले सम्बोधन गरेका थिए । मनोजको चुनावी अभियानमा पहिलादेखि नै लागेका नेकपा एमालेका जिम्मेवार नेता समेत रहेका उनले धरानको विकासको लागि विकल्पको लागि उनलाई सघाएको बताए । विगतमा उनले घण्टाघर निर्माणदेखि जनसहभागिताको सहर बनाएर धरानको जग बसाएको बताए ।
प्रचारप्रसारका संयोजक एवं ब्लाष्ट टाइम्स दैनिकका सम्पादक समेत रहेका किशोरकुमार कार्कीले मनोजले नै यसपटक जित्ने दावी गरे । उनले एमाले र कांग्रेसकै मत पनि मनोजलाई आउने दावी गरे ।
के के छन् चुनावी एजेन्डा ?
यही मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका उम्मेदवार मनोजले शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड दिएका छन् ।
उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक यस क्षेत्रले यहाँका आफ्ना एक से एक सम्पति गुमाएको यहाबाट मेडिसिन क्याम्पस, अदालत, खाद्य प्रयोगशाला, क्षेत्रीय शिक्षा निर्देशनालय, क्षेत्रीय अस्पताल धरान अस्पतालको अस्तित्व, वाणिज्य बैंकको क्षेत्रीय कार्यालय कृषि विकास बैंकको क्षेत्रीय कार्यालय यस क्षेत्रबाट अन्यत्र सारिएको र हालसालै ६४८ मेघाहर्जमा तीन कुनेबाट बज्ने गरेको रेडियो नेपालको मिडियम वेभ बन्द गरेको लगायतका कुराहरुले सुनसरी क्षेत्र नं १ लाई हेर्ने नजर केन्द्रमा बसेर हालिमुहाली गर्नेहरुको कहिले सकारात्मक नभएको बताएका छन् ।
धार्मिक संस्कार, चाडपर्व तथा मन्दिर र तीर्थस्थलहरु यस क्षेत्रका सम्पत्ति भएको बताउँदै कोकाहा खोला, सप्तकोशी लगायत पवित्र मानिएका नदीहरु पनि यसै क्षेत्रको सीमा भएर बग्ने गर्नुका साथै यहा प्याराग्लाइडिङ्ग, जीपलाइन, ग्लासविज, रोप क्लाइम्बिङ्ग, हाइकिङ्ग र साइक्लिङ्ग आदि क्षेत्रका पर्यटकीय आकर्षण केन्द्रहरु बनाउने बताए । उनले धरानलाई शिक्षा क्षेत्रको केन्द्रका रूपमा विकास र गुमेको व्यापार व्यवसायलाई पुनर्जागृत गर्ने पनि प्रतिबद्धता जनाएका छन् । तस्वीरहरुः हाम्रो कोशी आवाज





















