Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आए प्रचण्ड

हाम्रो कोशी आवाज
कार्तिक ३० २०७९, बुधबार
धरान आए प्रचण्ड

धरानः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान आएका छन् ।
सत्ता गठबन्धनले धरानको भानुचोकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनी धरान आइपुगेका हुन् । ११ ठाउँको चुनावी सभा भ्याएर हेलिकोप्टरमार्फत् कांग्रेसका केन्द्रीय नेता प्रकाशशरण महतसँग धरानस्थित रङ्गशालामा झरेका उनको स्वागतार्थ कांग्रेसका नेता किशोर राई, नगरका सभापति श्याम पोख्रेल, गठबन्धनका उम्मेदवार मुकेश मेन्याङ्बो, धरान उपमहानगपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, चोत्लुङ, माओवादी केन्द्रका नगर अध्यक्ष मनोज भट्टराईलगायत नेता कार्यकर्ता पुगेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले धरानको खानेपानीको समस्या देशभरी राम्रैसँग बुझिएको बताउँदै समस्या समाधानका लागि लागिपर्ने बताए । ‘धरानको खानेपानी समस्या भन्ने देशभरी राम्रैसँग बुझिएको समस्या छ’, चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ढले थपे, ‘यहाँका मेयर हर्क साम्पाङलाई धन्यवाद भन्न चाहन्छु, खानेपानीकै समस्या समाधान गर्छु भनेर मेयर बन्नुभएको छ, उहाँलाई धन्यवाद र उहाँले पानीको समस्या हल गर्न मिहिनेत गर्दै हुनुहुन्छ, उहाँले धेरै दुःख गर्नुभएको छ, त्यो दुःखलाई हामी सबैले सम्मान गर्नुपर्ने हुन्छ, अब हर्क जीको यो चाहनालाई हामी केन्द्रबाट पनि, बजेट, योजना पारेर त्यसलाई मद्दत गर्नेछौं, यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु ।’
उनले गठबन्धनको सरकार पाँच वर्षसम्म नरहने र १०–१५ वर्षसम्म नै रहिरहने बताउँदै उम्मेदवार मुकेशलाई जिताए मन्त्री बनाउने प्रतिबद्धता जनाए । ‘मुकेशलाई म राम्ररी चिन्दछु’, उनले भने, ‘सबै लागेर जिताइदिनुहोस्, धरानको समस्या समाधान गर्न पाँच वर्ष होइन, शुरुमै कोसिस हुनेछ, मन्त्री बनाएर तपाईहरुको विकासमा मद्दत गर्नेछु ।’
धरानका भूपू सैनिकलाई सम्मान जनक पेन्सनको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए । उनले धरान–किमाथाङ्का सडकलाई पूर्णता, धरानको रंगशालालाई पूर्णता दिन लागिपर्ने पनि बताए । उनले धरानको बीपी प्रतिष्ठानमा सुधार, सुकुम्बासी समस्या समाधानमा लागिपर्ने पनि बताए ।
यसपटक सत्ता गठबन्धनबाट मुकेश प्रतिनिधिसभा सदस्यका लागि र प्रदेश क तर्फ उमेश थापा, प्रदेश ख तर्फ रेवतीरमण राई चुनावी मैदानमा छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: कार्तिक ३० २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend