धरानः धरानमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको रौनक देखिएको छ ।
आइतबार बिहान ७ बजेदेखि शुरु भएसँगै मतादाताहरू मतदान गर्न उत्साहित देखिएपनि वितृष्णा भने पोखिरहेका देखिन्थे । बिहान ७ बजेदेखि नै मत खसाउन लामबद्ध मतदाताले यसपटक वितृष्णाको मत खसालेको बताएका छन् । ‘खासमा दलहरुप्रति कोही मतदाता खुशी छैनन्’, धरान–१८ का मतदाता रुकमणि रेग्मीले भने, ‘यसपटक मत धेरैले वितृष्णा जनाएर हालेका छन्, कसले बाजी मार्ला हेर्न बाँकी नै छ ।’
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ । निर्वाचन आयोगले तोकेको समय बिहान ७ बजेदेखि नै मतदान शुरु भएको हो । कतिपय मतदान केन्द्रहरुमा केही ढिला गरि मतदाान शुरु भएको थियो ।
सुनसरी क्षेत्र नं १ को पनि सबै केन्द्रहरुमा मतदान यो समाचार तयार पार्दासम्म शान्तिपूर्णरुपमा भएको छ । यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले धरान–१८ स्थित कार्मेल हाइस्कुलको मतदान केन्द्रमा मतदान गरेका छन् ।
यो निर्वाचनबाट देशभर प्रतिनिधिसभामा २७५ (प्रत्यक्ष १६५ र समानुपातिक ११०) र प्रदेशसभामा ५५० (प्रत्यक्ष ३३० र समानुपातिक २२०) सांसद चयन हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६१ दलका १ हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार छन् । प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् भने समानुपातिकमा ३ हजार ७०८ जना उम्मेदवार छन् ।

















