धरानः सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई विजयी भएका छन् ।
धरानमा जीत हासिल गरेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) लाई पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
धरानको सबै वडाको मतगणना सकिँदा रास्वपाकी सरिनले ११ हजार ५३३ मत पाएकी थिइन् भने जसपा उम्मेदवार राईले ११ हजार ३४१ मत पाएका थिए । बराहक्षेत्र, रामधुनी पुगेपछि विजयी राईले जीत हासिल गरेका हुन् । उनले १७ हजार ५९ मत ल्याएका छन् भने तामाङले १६ हजार ६०६ मत पाइन् ।
माओवादीका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भएका छन् । यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८१८, कुमार कार्कीले एक हजार ८६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७६० मत पाएका छन् ।
२०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित उनी ०७४ मा भने पराजित भएका थिए । एमालेको समर्थनमा राई २३ वर्षपछि प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभामा आएका छन् । ‘टुरिष्ट उम्मेदवार’ भनेर खुब चर्चा पाएका उनले यसपटक २०७४ को हार बिर्सेका छन् । त्यतिबेला एमालेकै जयकुमार राईसँग पराजित भएका थिए । २०७४ मा राईले ४४ हजार ५ सय २८ मत प्राप्त गरे भने अशोकले २२ हजार १ सय २३ मत प्राप्त गरेका थिए ।
उता सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ मा नेकपा एमालेकै विजयकुमार राई विजयी भएका छन् । राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । राईले १२ हजार ४६४ मत पाएका छन् भने राप्रपाका ढकालले ७ हजार ४८२ मत पाए ।
यस्तै, गठबन्धनबाट नेकपा एसका रेवतीरमण राईले ४ हजार ९८८ मत पाए भने स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८३८ मत पाए । स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईले २ हजार ६९८ मत पाएका छन् । कुल ३९ हजार १५३ मत खसेकोमा ३७ हजार २ सय सदर भएको थियो भने १९५३ मत वदर भएको थियो ।