Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आकांक्षाको ३१ वर्षपछि अशोक राईको बाजी

हाम्रो कोशी आवाज
मंसिर १२ २०७९, सोमबार
आकांक्षाको ३१ वर्षपछि अशोक राईको बाजी

धरानः अशोककुमार राईको संसदीय जीवनमा फाप सिद्ध भएको पार्टी हो, नेकपा एमाले । २०४८ सालदेखिको राईको संसदीय यात्रा, एमालेमा छँदा फलदायी र एमाले छाड्दा निष्प्रभावी देखिएको छ । ०४८ सालमा सुनसरी १ मा आकांक्षीका रुपमा थिए राई । तत्कालीन पार्टी समायोजनले उनलाई खोटाङ पुरयायो ।
३१ वर्षपछि सुनसरी फर्किएका राई एमालेकै मतले निर्वाचित भएका छन् । सुनसरी क्षेत्र नं. १ मा खसेको कुल मत संख्या ७८ हजार ९ सय ४३ गणना हुँदा उम्मेदवार राईले ४ सय ५३ मतान्तरले निकटतम प्रतिद्वन्द्वी राष्टिूय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पछि पार्दै निर्वाचित भएका हुन् ।
उम्मेदवार राईले १७ हजार ५९ मत प्राप्त गर्दा स्वतन्त्र पार्टीकी तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका छन् ।
राई २०४८ मा खोटाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए । ०५१ मा खोटाङ २ बाटै प्रतिनिधिसभामा चुनिए । ०५६ मा उदयपुर झरेपछि उनी पराजित भएका थिए । नेकपा एमाले छाडेर तत्काली संघीय समाजवादी पार्टी गठन गरेका राईले २०७० सालमा संविधानसभामा समानुपातिक तर्पmबाट निर्वाचित भएका थिए । ०७४ मा नेपाली कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार भएका उनी आफ्नै राजनीतिक चेला जयकुमार राईसँग पराजित भएका थिए ।
राई ०५१ मा एमालेबाट यातायातमन्त्री भए । ०५३ मा संयुक्त सरकारको संसदीय व्यवस्था मन्त्री भए र ०६२ मा संयुक्त सरकारको स्वास्थ्यमन्त्री भएका थिए ।
०४८ मा धरानबाट दाबेदार

पूर्वमा मालेको संगठन विस्तार गर्दा धरान राईको आधार इलाका थियो । ०४८ सालको आमनिर्वाचनमा धरानबाट उम्मेदवार बन्ने लगभग पक्का थियो । तत्कालीन मालेले ०४७ मंसिरमा राईलाई उम्मेदवार तय गरेको थियो । तर, ०४७ को माघमा मनमोहन अधिकारी र सहाना प्रधानसहितको नेकपा माक्र्सवादीसँग एकता भएपछि यो क्षेत्र राईले छाड्नुप¥यो ।
‘अध्यक्षलाई ‘कम्फर्ट जोन’ छान्न हामीले आग्रह गरेका थियौं,’ राईले भने, ‘केन्द्रीय अध्यक्ष’ का रुपमा यो निर्वाचनमा उहाँको विजय सुनिश्चित गराउनुपर्ने थियो, त्यसैले पनि उहाँहरुको राम्रो संगठन भएको धरानमा मनमोहनजीको उम्मेदवारी सुनिश्चित गरियो ।’
मनमोहन अधिकारीलाई अशोककुमार राई आफैंले चुनावमा मनोनयन दर्ता गराइदिए । चुनावी समारोहसम्म बसेर सम्बोधन गरे । राई भन्छन्, ‘खोटाङमा मेरो मनोनयन चाहिं देवी रेग्मीलाई वारेस दिएर दर्ता भएको थियो, वारेसबाट मनोनयन दर्ता भएको तीनदिनपछि विराटनगराबाट लामिडाँडा पुगरे अभियानमा सरिक भएको थिएँ ।’
सुनसरी १ मा नेकपा एमाले र जसपा तालमेलबाट राईले टिकट पाएपछि सुनसरी १ मा एमाले अशान्त बनेको थियो । प्रदेश कमिटीका सचिवालय सदस्य मनोजकुमार मेन्याङ्बो, प्रदेश सदस्य किशोरकुमार कार्कीलगायत जिल्ला कमिटीदेखि वडा कमिटीसम्मकै नेता कार्यकर्ताले अन्याय भएको महशुस गरे । मेन्याङ्बोले अशोक राईका विरुद्ध नै बागी उम्मेदवारी दिए ।

३१ वर्ष अघि सुनसरी १ मा अशोककुमार राई नै चाहिन्छ भनेर संघर्ष गरेका धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बो अशोक राई चाहिंदैन भन्ने कित्तामा उभिए र, उनीविरुद्ध नै उम्मेदवारी दिए । मेयाङ्बोको उम्मेदवारीले निर्वाचित हुन राईलाई ठूलो सकस पर्यो । मेयाङ्बोले राईका पक्षमा आउन सक्ने ७ हजार ८ सय १२ मत काटे ।
०४८ सालको निर्वाचन अघि टुंगो लागेको अशोक राईको उम्मेदवारी फिर्ता लिनुपर्ने भएपछि तत्कालीन नेकपा माले समर्थक युवाहरुमा तीव्र असन्तुष्टी थियो । जसको नेतृत्व गरेका थिए मनोजकुमार मेयाङ्बोले ।
एमाले छाडेपछि सुनसरी १ पराजय खेप्नु परेको अशोक राईको विडम्वना पनि छ । २०७४ को निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा आफ्नै राजनीतिक चेला जयकुमार राईसँग दोब्बर मतले पराजित हुन पुगेका थिए ।
आसन्न निर्वाचनमा राई आफूले खुन पसिना बगाएको क्षेत्रबाट एमालेकै विश्वासमा निर्वाचित हुन पुगे । राई आफैं भन्छन्, ‘राजीतिमा अनन्त सम्भावना रहेको हुन्छ ।’
राई निर्वाचित भएपछि सुनसरी १ को विकासले गति लिने अपेक्षा गरिएको छ । यो क्षेत्रबाट मन्त्री बन्न सक्ने र क्षेत्रको विकासमा अतुलनीय योगदान दिने व्यक्तिका रुपमा हेरिएको छ ।

प्रकाशित मिति: मंसिर १२ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend