धरानः धरानमा प्रदेश १ स्तरीय एसइई सिङगीङ र डान्सिङ आइडलको तयारी थालिएको छ ।
एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर यस्तो प्रतियोगिता आयोजना हुन लागेको हो । प्रत्येक वर्ष आयोजना हुँदै आएको सो प्रतियोगिताको ग्राण्ड फिनाले भने २०७९ जेठ ३१ गते हुने भएको आयोजक फक्तालुङ मिडिया हाउसले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सहभागिताको लागि चैत्र तेस्रो हप्तादेखि ओखलढुङ्गा जिल्लाबाट अडिसन थालिने मिडियाका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
‘हरेक बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता अवश्य हुन्छ तर क्षमता वा प्रतिभा प्रदर्शनका लागि उसले उचित अवसर भने पाउनुपर्छ भन्ने हो, उचित अवसर नपाएमा निहीत प्रतिभा बाहिर आउन नपाई त्यसै मरेर जान्छ । यही सत्यलाई हृदयङ्गम गरेर ‘शिक्षाका लागी सङगीत’ भन्ने मूल नाराका साथ यो प्रतियोगिता २०७५ सालदेखि थालनी भएको हो ।’ अध्यक्ष तुम्बापोले भने, ‘बालबालिकामा निहीत गायन र नृत्य प्रतिभालाई उजागर गर्न थालिएको यो सानो प्रयास सार्थक हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।’
प्रतियोगितामा एसइई दिने दिने विद्यार्थीहरुले भाग लिन पाउनेछन् । प्रतियोगिताका लागि यस वर्ष प्रदेश नम्बर १ का १४ जिल्लामा अडिसनहरु सम्पन्न हुने आयोजकले जनाएको छ । अडिसन चैत तेस्रो हप्तादेखि ओखलढुङगाबाट शुरु हुनेछ । अडिसनमा सहभागी हुन इच्छुक प्रतिभाहरुले निर्धारित स्थानमा गई फर्म भर्नुपर्ने र फारम निःशुल्क वितरण गरिने साथै ट्रेनिङ शुल्कवापत कुनै पनि रकम प्रतियोगिहरुबाट नलिइने आयोजकले जनाएको छ ।
दुवै प्रतियोगिताका बिजेतालाई ट्रफी साथै नगद .५० हजार पुरस्कार, र प्लस टु अध्ययन गर्न नगद ३ लाख बराबरको पूर्ण छात्रवृत्ति, विविध गिफ्ट ह्याम्पर, मुस्ताङ भ्रमण निःशुल्क गराइने आयोजकले जनाएको छ । यस्तै, फस्ट रनरअपका लागि ट्रफी साथै नगद पुरस्कार ३० हजार, प्लस टु पढ्न ८० प्रतिशत छात्रवृत्ति साथै विविध गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
यस्तै, सेकेण्ड रनर अपले ट्रफी साथै नगद पुरस्कार २० हजार, प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रवृत्ति, विविध गिफ्ट ह्याम्पर साथै टप टेन फाइनलिष्टहरुलाई प्लस टु अध्ययनमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । यस्तै, प्रतियोगितामा विभिन्न सबटाइटलहरु पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
अनलाइन फारम आधिकारिक पेज FTL Online TV मा राखिनेछ र Digital Audition को पनि व्यवस्था गरिएको छ । त्यसका लागि प्रतियोगिहरुले नृत्य र गीत WhatsApp number. 9852056874मा पठाइ आफ्नो नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । तस्वीरहरुः लक्ष्मण थापा
\



