Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुटपिटबाट मृत्यु भएकी उषाको अन्त्येष्टी

हाम्रो कोशी आवाज
मंसिर १८ २०७९, आइतबार
कुटपिटबाट मृत्यु भएकी उषाको अन्त्येष्टी

धरानः कुटपिटबाट मृत्यु भएकी धरान-१३ की उषा राईको शनिबार अन्त्येष्टी भएको छ ।
न्यायको लागि आन्दोलनरत पक्ष र परिवारबीच शव जिम्मा लिने एकखाले सहमतिपछि उनको अन्त्येष्टी भएको हो ।
कुटपिट भएको महिना दिनपछि उपचारको क्रममा मृत्यु भएकी उषा राईको शनिबार राति अन्त्येष्टी गरिएको हो । एकखाले सहमतिपश्चात् पोष्टमार्टम गरिएको र पोष्टमार्टमपछि शवको अन्त्येष्टी गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । मृतक उषाको धरानस्थित खत्रीधारामा रहेको दाहसंस्कारस्थलमा अन्त्येष्टी गरिएको थियो ।
निकै कडा सुरक्षाका बीच धरानस्थित बीपी प्रतिष्ठानको मर्चरीमा राखिएको शव धरानस्थित खत्रीधारामा लगिएको थियो । दिनभरजसो तनावपूर्ण बनेको बीपी प्रतिष्ठानस्थित मर्चरीमा राखिएको शव निकाल्न नदिने भन्दै केही महिला समूहहरुले विरोध पनि गरेका थिए । तर परिवार पक्षले पोष्टमार्टम गरेपछि अन्त्येष्टी गर्ने र त्यसपछि पनि दोषीलाई कारवाहीको लागि खबरदारी गर्ने भन्दै शव जिम्मा लिएका थिए ।
धनकुटाको शहिदभूमी गाउँपालिका घर भएकी उषा धरान–१३ सूर्य मार्गमा डेरा गरी बसेकी थिइन् । धरान १३ कै उर्मिला राई नाम गरेकी महिलाले आफ्नो श्रीमान् गोविन्दसँग नजिकिएको भन्दै उषालाई महिलाहरु लगेर मरणासन्न हुनेगरी कुटपिट गरेकी थिइन् । आफन्तजन र अन्य महिलाहरुले पनि कुट्न सघाएका थिए । त्यतिबेला केही झोलिलो पदार्थ समेत उषालाई खुवाइएको पाइएको प्रहरीले जनाएको छ ।
श्रीमानको समेत मृत्यु भइसकेकी उनको दुई छोरी छन् । आफ्नो श्रीमानसँग नजिकिएको भन्दै आफन्त र केही महिलाहरुसहित गएर कार्तिक ३ गते उषा राईलाई कुटपिट गरेका थिए । अहिले उषाकी दुई छोरीको पनि विचल्नी भएको छ ।
धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले दुई छोरीको लालनपालनका लागि १० लाख रुपैयाँ दिने एकखालको गोप्य सहमति बनेको बताएका छन् ।

प्रकाशित मिति: मंसिर १८ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend