Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धमाधम पक्राउ गर्दै प्रहरी

हाम्रो कोशी आवाज
मंसिर २० २०७९, मंगलबार
धमाधम पक्राउ गर्दै प्रहरी

धरानः धरान–१३ बस्ने उषा राईमाथि कुटपिटमा संलग्न ७ जनाविरुद्ध किटानी जाहेरी परेपनि प्रहरीले हालसम्म चारजनालाई मात्रै पक्राउ गर्न सफल बनेको छ ।
यसअघि नै तीनजनालाई पक्राउ गरिएको र थप एकजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न रत्ना लिम्बूलाई पनि पक्राउ गरिएको छ । यसअघि उषा प्रकरणकी मुख्य आरोपी उर्मिला राई, सुशेली राई र सुमित्रा राईलाई पक्राउ गरेको थियो । उर्मिलालाई गत मङ्सीर १५ गते र सुशेली र सुमित्रालाई मङ्सीर १६ गते पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
चारैजनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थपेर अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिए । ‘७ जनाको नाममा किटानी जाहेरी परेको छ’, डिएसपी श्रेष्ठले भने, ‘अन्यको पहिचान भइसकेको छ, दरिलो प्रमाण जुटाउन लागिरहेका छौं, चाँडै पक्राउ गर्छौैं ।’ उनका अनुसार कपाल लुछ्नेदेखि कुटपिटमा संलग्न कसैलाई पनि छाडिने छैन ।
एकजना पहिचान नै हुन नसकेको प्रहरीले जनाएको छ । उनले एकजनाको पहिचान नभएपनि दुईजनाको पहिचान भइसकेको र दरिलो प्रमाण जुटाउन लागिरहेको बताए । ‘एकजनाको पहिचान नै खुल्न सकेको छैन, किटानी जाहेरीमा नाम छ तर नामअनुसारको मानिस नै न छिमेकीले चिन्छ, न आफन्तले चिन्छ, न किटानी जाहेरी दिनेले नै, कसैले चिन्न नसक्दा समस्या भइरहेको छ तर पनि हामी अति मिहिनेतका साथ लागिरहेका छौं ।’ डिएसपी श्रेष्ठ भन्छन् ।
आफ्नो पतिसँग नजिकिएको आरोप लगाउँदै गत मङ्सीर ३ गते उर्मिला राई नेतृत्वको आमा समूहकै सदस्यहरु मिलेर उषामाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते बनेकी उषालाई तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । ्बीपी प्रतिष्ठानमा केहीदिनको उपचारपछि डिस्चार्ज भएकी उषाले थप उपचार खर्च पाउने गरी सामुदायिक प्रहरीमा मिलापत्र समेत गरिएको थियो । उषालाई महिलाहरूको आमा समूहले कुटपिट गर्नुका साथै अखाद्य तरल पदार्थसमेत खुवाएका थिए । उषाको स्वास्थ्यमा पुनः समस्या आएपछि उनलाई तत्कालै प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानमा उपचारको क्रममा उषाको मंसिर १३ गते मृत्यु भएपछि एकखाले तरङ्ग नै पैदा भएको थियो ।
मृतक राईका २ छोरी छन् । उनीहरुको उचित गाँस, बास र कपासको साथै शिक्षा, स्वास्थ्य र रोजगारीको आजीवन व्यवस्था गर्न महिला संगठनहरुले समेत माग गर्दै विभिन्न धर्ना, नाराजुलुसका कार्यक्रम पनि गर्दै आएका छन् । अहिले धेरैले आर्थिक चलखेल, राजनीतिक हस्तक्षेप बढेको भन्दै विरोध पनि गरिरहेका छन् ।
उता घटनामा संलग्न भई पक्राउ परेकालाई सार्वजनिक गर्न माग गर्दै आएका छन् तर पनि प्रहरीले सार्वजनिक गर्न चाहेको छैन । ‘सबैले चिनेजानेकै मानिसहरु छन् किन सार्वजनिक गर्नुपरयो’, कोशी आवाजसँगको कुराकानीमा डिएसपी श्रेष्ठले भने । उनले जिल्ला प्रहरीसँगको समन्वयमा मात्रै सार्वजनिक गर्ने नियम बनाइएको हुनाले चाहेर पनि इलाका प्र्रहरीले सार्वजनिक गर्न नसक्ने बताए । ‘यति बुझ्नुहोस् जतिजनाले कुटे सबैजसो पक्रिँदै छौं, जिल्लासँग समन्वय गरेर र जिल्लाको आदेश लिएर मात्रै हामी सार्वजनिक गर्छौं ।’ डिएसपी श्रेष्ठले भने ।

प्रकाशित मिति: मंसिर २० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend