धरानः यही मंसिर २२ गतेदेखि शुरु हुन लागेको हिसान बास्केटबलमा पुरुषतर्फ ११ र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएको छ ।
आयोजक हिसान सुनसरीले मंगलबार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत् खेल तालिका तयार गर्दै सहभागी टिम सार्वजनिक गरेको हो । खेल तालिका प्रतियोगितामा प्राविधिक सहयोगको रुपमा रहेका धरान बास्केटबल संघका प्रतिनिधि तथा प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक अर्जुन घिमिरे, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट खेलकुद संयोजक हेमन्त भण्डारी लगायतको उपस्थितिमा तयार पारिएको थियो ।
प्रतियोगितामा सुनसरीभरिका ०७८ र ०७९ सालका प्लस टु रेगुलर विद्यार्थीहरुले मात्र आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । सहभागी विद्यालयहरुमा धरान मेघा हिमालयन महिला पुरुष टिम, लोटस, एम्स एकेडेमी, सियोन स्कुल महिला पुरुष टिम, विष्णु मेमोरियल महिला पुरुष, जेनिथ महिला पुरुष, धरान आदर्श महिला पुरुष, धरान उच्च महिला पुरुष, विश्व आदर्श इटहरी, सुष्मा मावि इटहरी, पूर्वाञ्चल मावि तरहराले सहभागिता जनाउनेछ ।
हिसान स्पोर्टस मिट २०७९ अन्र्तगत बास्केटबल प्रतियोगिता हुन लागेका हो । प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा हुनेछ । स्पोर्टस मिटअन्र्तगत चेस र वक्तृत्वकला सकिएको छ भने बास्केटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, व्याडमिन्टन, फुटबल, नृत्य, क्वीज कन्टेस्ट र कविता वाचन प्रतियोगिता हुन भने बाँकी छ । बास्केटबल प्रतियोगिता मंसिर २२ देखि २४ गते सम्म सम्पन्न हुनेछ ।