धरानमा लिम्बू समुदायहरुले धरान–१५ स्थित चुम्लुङ हीममा विधिवतरुपमा आफ्नो धार्मिक अनुष्ठानका साथ २१ गतेदेखि शुरु गरेको चासोक तङनाम उत्सव २५ गतेसम्म चल्नेछ । विभिन्न कार्यक्रमको प्रस्तुत गरी साँस्कृतिक महोत्सवको रुपमा मनाएका उनीहरुले तेस्रो दिन शुक्रबार पनि इटहरीका च्याब्ब्रुङ टोलीसहित धरानका विभन्न वडाहरु गरी जम्मा ११ वटा टोलीहरुद्वारा च्याब्रुङ नाच प्रदर्शन गरेका छन् । लिम्बू समुदायमा प्रचलित नृत्य हो, च्याब्रुङ । कुनै चाडपर्व, विवाह, भोजभतेर, घरपैंचो (नयाँ घरमा सरेका बेला) जस्ता रमाइला अवसरमा लिम्बूहरू च्याब्रुङ बजाएर नाच्छन् । यो नाच वृत्ताकार शैलीमा घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ। च्याब्रुङ बजाउँदा प्राय:जसो दाहिने ताल हातले एकपटक र देब्रे ताल लठ्ठीले दुई पटक हिर्काइन्छ। यसरी बजाइएको च्याब्रुङको धुन प्राकृतिक र कर्णप्रिय हुन्छ।
तस्वीरहरू: लक्ष्मण थापा






















