धरानः हिसान स्पोर्टस मिटअन्र्तगत भइरहेको हिसान बास्केटबलको उपाधि धरान मेघा हिमालयन र धरान उच्च माविले चुमेको छ ।
शनिबार भएको फाइनल खेलमा छात्रतर्फ धरान मेघा हिमालयनले एम्स एकेडेमीलाई ४५–३४ र छात्रातर्फ धरान उच्चले धरान मेघालाई २१–११ अंकले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । हिसान सुनसरीको आयोजनामा सम्पन्न छात्रतर्फको फाइनल खेलको प्रत्येक क्वाटरमा मेघा हिमालयन र एम्स एकेडेमीले १३–९, १०–१२, १३–१० र ९–३ अंक जोडेका थिए । छात्रातर्फ धरान उच्च र मेघा हिमालयनले ६–२,२–६,९–१ र ४–२ अंक जोडका थिए । बिजेता तथा उपबिजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच छात्रतर्फ धरान मेघाका सविन राई र छात्रातर्फ धरान उच्चका सविना राई घोषित भए । मोस्ट इमर्जिङ प्लेयरमा छात्रतर्फ एम्सका सितम लिम्बू र छात्रातर्फ मेघा हिमालयनका सम्झना राई घोषित भइन् । हाइ स्कोररमा छात्रतर्फ धरान आदर्शका सौगात मल्ल र छात्रातर्फ धरान उच्चका सन्ध्या राई घोषित भइन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयर छात्रतर्फ मेघा हिमालयनका योगेश राई र छात्रातर्फ धरान उच्चका सन्ध्या राई घोषित भइन् । उनीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका बिजेता तथा उपबिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सभासद रमेश बस्नेत, कार्यक्रमका सभाध्यक्ष हिसान बास्केटबलका संयोजक अर्जुन घिमिरे, हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिटका संयोजक हेमन्त भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए ।
धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताको प्राविधिक सहयोग धरान बास्केटबल संघको रहेको थियो ।