Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बाँदरले औधी दुःख दिएको भन्दै ज्ञापनपत्र

हाम्रो कोशी आवाज
मंसिर २६ २०७९, सोमबार
धरानमा बाँदरले औधी दुःख दिएको भन्दै ज्ञापनपत्र

धरानः धरानमा बाँदरले औधी दुःख दिएको भन्दै धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।
यसअघि पनि पटक–पटक बाँदर व्यवस्थापन हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाउँदै धरान उपमहानगरपालिकादेखि केन्द्र सरकारसमेत गुहार्दा केही जोड नचलेको र ९ वर्षसम्म पनि यस कार्यमा सम्बन्धित निकायले ठोस पहल हुन नसकेको हुनाले धरान उपमहानगरपालिकामा पुगेर मेयर हर्कराज राई साम्पाङलाई भेटी ज्ञापनपत्र बुझाइएको बाँदर व्यवस्थापन संघर्ष समितिका संयोजक सकुल श्रेष्ठले जानकारी दिए ।
बाँदरको उपद्रोका कारण धरानको सुन्दरतालाई कुरुप बनाउँदै भय, त्रास र आतंक समेत सिर्जना गरेको समितिको ठहर छ । बाँदरकै कारण भौतिक असुरक्षा, मानसिक पीडा, धार्मिक अवरोध, आर्थिक क्षति व्यहोर्नुपरेको समेत मेयर साम्पाङलाई बुझाइएको ज्ञापनपत्रमा जनाइएको छ ।
‘खतरनाक रेविज, एचआईभी एड्स र क्यान्सरजस्ता घातक रोग पनि यसकै टोकाइका कारण फैलिन सक्छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसैले यसको व्यवस्थापनमा उपमहानगरपालिका चनाखो बन्दै अघि बढ्नुको विकल्प छैन ।’ ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्रमा बाँदर व्यवस्थापनका लागि केही सुझाइएको समेत छ । बाँदर व्यवस्थापन नभएसम्म बाँदर रक्षक नगर प्रहरीको व्यवस्था हुनुपर्ने, प्राविधिक टोलीको सहयोगमा खोर, जाली, पासो वा ड्याटिङ (बेहोस पार्ने सुई) वा डार्टगर्न (बेहोस बनाउने बन्दुक) प्रयोग गरी बाँदरलाई नियन्त्रण गरी राष्ट्रिय निकुञ्ज तथा आरक्षण केन्द्रमा स्थानान्तरण गर्नुपर्ने, स्थानान्तरण नभएसम्म समातिएका बाँदरहरु नगरपालिका वा अन्य सरकारी वा गैर सरकारी निकायको सहायतामा नियन्त्रणमा राखिनुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मान्य विधि प्रयोग गरी व्यवस्थापनका उपयुक्त विकल्पका खोजी गरी त्यसलाई कार्यान्वयन गरिनुपर्ने सुझाइएको छ ।
धरानमा घरैमा पसेर बाँदरले टोक्न थालेपछि धरानबासी आतंकित समेत बन्दै आएका छन् । धरानको विजयपुर क्षेत्र र पुरानो बजार, छाताचोकसहितका बजार क्षेत्रका घरमै बाँदरको हुल पसेर मान्छे टोक्ने गरेको स्थानीय राजीव हलवाईले जानकारी दिए । बाँदरले घरैमा पसेर सताउन थालेपछि धरानबासीले बाँदरको नियन्त्रण गर्न माग गरेका हुन् । बाँदरले बाटो हिँड्दै गरेका सर्वसाधारणलगायत घरमै समेत बस्दै आएका स्थानीयलाई आक्रमण गरी दुःख दिने गरेको गुनासो बढ्दो छ । हुलका हुल बाँधेर घरमा पसेर झ्यालका सिसा फोडिदिने, किचेनमा पसेर भातको भाँडो नै लगिदिने र बालबालिकालाई कुटपिटसमेत गर्ने स्थानीयले बताएका छन् ।
बाँदरले सताएपछि धरानबासीले ०७० माघ १५ गते बाँदर पीडित संघर्ष समिति गठन गरी तत्कालीन वन कार्यालय, धरान नगरपालिका, सभासद्, वन, गृह र स्थानीय विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए ।
यसअघि धरान क्षेत्रका जंगलमा रहेका बाँदरलाई बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको थियो । त्यतिबेला भारतको लखनउबाट आएका बाँदर नियन्त्रणकहरु झिकाइएको थियो । त्यतिबेला करिब ३ सय बाादरलाई पासोमा पारी बर्दिया राष्ट्रिय निकुन्जमा लगेर छाडिएको थियो ।
बाँदरले मुख्यगरी धरानको १, २, ३, ४, ५, ६ र १५ वडामा स्थानीय बासिन्दाले पकाएर राखेको भात खाइदिने, घरको विजुली बत्ती फुटाइदिने, पोलको विजुली भत्काउने, पर्दाहरु च्यातिदिने, महिला र बालबालिकालाई टोक्ने, सिसाका झ्याल फुटाउने गरेपछि बाँदर पिडित संघर्ष समिति बनाएको थियो ।

प्रकाशित मिति: मंसिर २६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend