धरानः एलाइनेट जीमको आयोजनामा चैत्र ३ र ४ गते चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्लाहरुबाट करिब ५० जना खेलाडीहरुले सहभागिता जनाउने आयोजकले मंगलबार धरान–१८ बुद्धचोकस्थित एमसी क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । प्रतियोगिता धरान–८ स्थित धरान सभागृहमा हुनेछ ।
प्रतियोगिताका बिजेताले नगद एक लाख १० हजार, दोस्रोले नगद ५० हजार, तेस्रोले ४०, हजार, चौथोले ३० हजार, पाँचौले २० हजार र छैठौले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी व्यक्तिगत विधातर्फ वेस्ट पोजर, मोस्ट इम्पु्रभमेन्ट बडी र मस्कुलर मेनको उपाधि बिजेताले जनही नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
चैत्र ३ गते प्रतियोगिताको प्रि–जजिङ राउण्ड हुने र ४ गते प्रि–जजिङबाट छनौट भएकाहरुले प्रतिस्पर्धा गर्ने आयोजक एलाइनेट जीमका अध्यक्ष विक्रम लिम्बूले जानकारी गराए । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ८० केजी तौल समूह रहेको छ । प्रि–जजिङमार्फत् प्रत्येक तौल समूहबाट ६ जना खेलाडी फाइनल राउण्डमा प्रवेश गर्दै प्रतिस्पर्धा गर्नेछ ।
चौथो मिस्टर कोशि एलाइनेट जिमको २० औ प्रस्तुति हो । यसअघि एलाइनेटले चार वटा राष्ट्रिय, ७ वटा मिस्टर पूर्वाञ्चल, ३ वटा मि. कोशी, ४ वटा मिस्टर धरान र १ वेन्चप्रेस च्याम्पियसीप आयोजना गरिसकेको छ । एलाइनेट जीमको आयोजनामा २०६५, २०६६ र २०६७ सालमा मिस्टर कोशीको आयोजना भइसकेको छ । ०६५ र ०६६ मा उर्लाबारीको विकास धिमाल र ०६७ मा धरानको मिलन चाम्लिङले उपाधि जितेका थिए ।
