धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
आफूले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न उनले सुझाएका हुन् । केही महिनादेखि कार्यपालिका बैठक वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिष्कार गर्दै आएपछि उनले पत्रकार सम्मेलनमार्फत् राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाएका हुन् ।
‘बैठक नियमित बोलाइरहेको छु तर पनि बैठक बहिष्कार हुँदै आएको छ’, उनले भने, ‘अब तीनदिनपछि बैठक डाक्छु आएनन् भने राजीनामा दिएर मार्गप्रशस्त गर्दा हुन्छ ।’
गत भदौ १३ मा बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङ र कार्यपालिका सदस्यबीच केही विवाद भएको थियो । कार्यपालिका सदस्य अनुप देवानले बैठकमा मेयर साम्पाङको बहुसांस्कृतिक पार्क निर्माण गरौं भन्ने प्रस्तावमा फरक मत राख्न पुगेका थिए । त्यतिबेला मेयर साम्पाङले उनलाई बस्नुहोस् भनेका थिए तर कार्यपालिका सदस्य देवानले बस्दिनँ भनेपछि मेयर साम्पाङ त्यसो भए बाहिर जानुहोस् भनेका थिए ।
कार्यपालिका सदस्यहरुलाई अपमान गरेको भन्दै वडाध्यक्षहरुले मेयरलाई आत्माआलोचना गरी बैठकलाई सुचारु गर्न माग गरेका थिए । मेयर साम्पाङले आफूले माफी माग्ने कुनै कारण नदेखेकोले माफी नमाग्ने अडान कसेका थिए ।
शुक्रबार अधिकांश पत्रकारको उपस्थितिमा मेयर साम्पाङले आफूले विकास, निर्माणको कुरा गर्दा सबैजना भाँजो हाल्न खोजेको प्रतिक्रिया दिएका छन् । ‘म जहिल्यै विकासका लागि लागिरहन्छु तर उहाँहरु नगरौं भन्नुहुन्छ, उल्टै मेरो उछितो काडियो’, उनले भने, ‘त्यसो भए राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुहोस् भनेको हुँ ।’