धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ सम्मानित भएका छन् ।
शुक्रबार उनलाई स्व. श्रीमती जनकमाया तथा भुइँदल राई फाउन्डेशनले नगदसहित सम्मान गरेको छ ।
हचुवागढी–१ भोजपुर कार्यालय रहेको सो फाउन्डेशनले मेयर साम्पाङको कार्यालयमै पुगेर सम्मान गरेको थियो । ‘सडकमा एक्लै अभियान चलाई धराने जनताको खानेपानी समस्या, भ्रष्टाचार र अनियमितताजस्ता विविध विषयमा खरो आवाज उठाइरहने तपाईको कार्यशाल सफलताको शुभकामना व्यक्त गर्दछौं’, प्रशंसापत्रमा भनिएको छ, ‘तपाईले सडकमा गर्नुभएको एकल अभियानप्रति हामी प्रभावित छौं । स्व. भुईँदलले धरानको जनसमुदायमा सामाजिक, राजनीतिक, आर्थिक र विविध विषयमा गर्नुभएको एकल जनचेतनाको अभियानको प्रतिविम्व आएको महसुस गर्दै तपाईले जनश्रमदानको माध्यमबाट धरानबासीलाई खानेपानीको समस्या समाधान गर्नुका साथै पानीको स्रोत सुक्न नदिनको लागि सर्दुलगायतका खोलामा जनश्रमदानबाट वृक्षारोपण अभियान सञ्चालन गर्नुभएको कार्यलाई २०४४ सालमा धरानको उत्तरमा रहेको पाखाहरुमा वृक्षारोपण गरी उपयोग गर्नुपर्छ भन्ने भावनासहित लेखी प्रकाशन गर्नुभएको पुस्तक ‘मेरो आँखामाः सुन फल्ने पाखा’ को कार्यान्वयनको थालनी हो भनी मनन र मूल्याङ्कन गरी प्रशंसापत्र प्रदान गरिएको छ ।’
फाउन्डेसनद्वारा मेयर साम्पाङलाई १ लाख एक हजार पाँच रुपैयाँको सहयोग रकम समेत प्रदान गरिएको अध्यक्ष गंंगाराज राईले जानकारी दिए । तस्वीरः लक्ष्मण थापा
