Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरान डे’ मनाउने स्थानीय सरकारको तयारी

हाम्रो कोशी आवाज
पुष ७ २०७९, बिहिबार
‘धरान डे’ मनाउने स्थानीय सरकारको तयारी

धरानः धरानमा तीन दिनसम्म ‘धरान डे’ अर्थात् धरान उपमहानगरपालिकाको जन्मदिन मनाइने भएको छ ।
बुधबार (आज) मेयर हर्कराज राई साम्पाङले विभिन्न जातीय संघसंस्था, संघसंस्थाका प्रतिनिधिलाई कार्यकक्षमा डाकेर सो जानकारी दिएका हुन् । धरान उपमहानगरपालिकाले पौष २० गतेलाई ‘धरान डे’ को रुपमा विविध कार्यक्रमको आयोजना गरी हरेक वर्ष मनाउने गरेको छ ।
मेयर साम्पाङले धरानमा रहेका जातजातिहरूको साँस्कृतिक भेषभूषा, गरगहना, जातीय नाच र खानपानलाई विशेष बाह्य तथा आन्तरिक पर्यटकहरूमा जानकारी गराउन पनि धरान डे मनाउन लागिएको जानकारी दिए ।
मेयर साम्पाङले वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत सबैजसोलाई पत्र नै काटेर छलफलका लागि डाकिएको भएपनि उपस्थित नभएको बताए । ‘कार्यपालिका बैठकभित्रको मनमुटाव, एकखाले असहमति जस्तो जे भएपनि धरानको जन्मदिन मनाउने कुरामा सबैजना एक हुन जरुरी छ, यो मेयरको मात्रै हो भन्ने सङ्कीर्ण सोंच राख्न हुँदैन, मलाई नराम्रो देखाउन लाग्नु हुँदैन ।’
शनिबार महिला सञ्जाल, महिला संघ, विभिन्न सहकारी संघका प्रतिनिधिसहितको भेटघाट कार्यक्रममा महिलाहरुले पनि भव्य र सभ्यरुपमा आफ्नो उपमहानगरपालिकाको जन्मदिन मनाउनुपर्ने बताएका छन् । महिला अभियन्ता मिना पुलामी मगरले यसपटक अझै भव्य तरिकाले धरान डे मनाउनुपर्ने बताइन् । उनले यसका लागि धरानका कार्यपालिका सदस्य, वडाध्यक्षहरुको पनि सहभागिता आवश्यक रहेको बताइन् । ‘धरान डे’ भनेको सबैको हो, यसका लागि इज्जतकै लागि भएपनि सबै जुट्नु आवश्यक भइसकेको छ ।’ महिला सञ्जाल धरान नगर अध्यक्ष चेतना श्रेयङले धरान डेलाई भव्य बनाउन आफूहरुको सक्दो सहयोग रहेको बताइन् ।
पौष २० गते पहिलो दिन बिहान ११ बजे धरान–१२ स्थित पब्लिक हाइस्कुलबाट सांस्कृतिक झाँकीसहितको रयाली आयोजना हुने वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्माले जानकारी दिए । कार्यक्रम दिउँसो १ बजे कार्यक्रमका प्रमुख अतिथिले ‘धरान डे’ को औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोही दिन पब्लिक हाइस्कुलको प्राङ्गणमा सम्मान, पुरस्कार वितरणलगायतका कार्यक्रम भइसकेपछि साँझ ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिकसहित लोकदोहोरी प्रतियोगिता कार्यक्रम हुनेछ ।
यस्तै, दोस्रो विद्यालयस्तरीय प्रतियोगिता, डोरी तानलगायतका रमाइलो कार्यक्रम हुनेछ भने तेस्रो दिन जातीय संघसंस्थाका प्रदर्शनी, नाचगानलगायतको कार्यक्रम हुने जनाइएको छ । बीच बीचमा सरसफाइलगायतका सन्देशमूलक कार्यक्रम पनि तय भएको छ । कार्यक्रममा शैक्षिक प्रदर्शनी, स्वास्थ्य प्रदर्शनी, चित्रकला तथा फोटो प्रदर्शनी, साहसिक खेलकुद प्रदर्शनी, जातीय खानाको प्रदर्शनी तथा धरानका स्थानीय उत्पादनहरु प्रदर्शनीमा राखिने बताइएको छ ।

प्रकाशित मिति: पुष ७ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend