धरानः धरानमा क्रिसमस धुमधामसाथ मनाइएको छ ।
धरानका रहेका चर्चहरुमा भेला भएर धरानेले क्रिसमस धुमधामसाथ मनाएका छन् । धरान–१२ स्थित न्यू लाइफ चर्चले पनि क्रिसमस पर्व धुमधामसाथ मनाएको सञ्चालक मेयरमान ह्युजले जानकारी दिए । उनका अनुसार सांगीतिक कार्यक्रम साथै शुभकामना आदानप्रदान गरेर क्रिसमस मनाइएको जानकारी दिए ।
धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उपमेयर बेघाले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक भएको बताउँदै सबैको धर्मको उचित सम्मान हुँदै आएको बताए । उनले सबैको भाषा, धर्म, संस्कार, संस्कृतिको सम्मान गर्नुपर्ने पनि बताए ।
इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्ट जन्मिएको दिनलाई भव्यताका साथ मनाउँछन् । डिसेम्बर २५ तारिखको साँझ ‘क्रिसमस इभ’ को रमझममा हुन्छ । रमाइलो गर्न तम्सने अन्य धर्मावलम्वीका युवायुवती, वृद्धवृद्धाहरूका लागि क्रिसमस इभ एउटा रमाइलो बहाना बन्ने गरेको छ । भनौं क्रिसमसमा क्रिस्चियन धर्मावलम्वीहरू मात्र नभएर गैर क्रिस्चियनहरू पनि रम्न थालेका छन् ।
केहीवर्ष भयो, नेपालमा पनि क्रिसमस इभ मनाउने चलन बढेको छ । जब डिसेम्बर महिना प्रारम्भ हुन्छ, तब क्रिसमसको चर्चा भै नै हाल्छ । क्रिसमस भन्नेबित्तिकै धेरैको मनमा ‘क्रिसमस ट्री’, ‘शान्ता क्लज’, विभिन्न उपहार, चर्च तथा येशुको नाममा गरिने प्रार्थनाको सम्झना आउँछ । सपिङ मल, होटल, रेस्टुराँदेखि चर्चसम्म इसाई धर्मावलम्बीका साथै गैरक्रिस्चियनहरूको चहलपहल पनि बाक्लिन थालेको छ, कार्यक्रम हुन थालेको छ ।
क्रिसमसमा त्यहाँ नाचगान हुन्छ, उपहार आदान–प्रदान गरिन्छ अनि नयाँ आगन्तुकहरूलाई स्वागत गरिन्छ भने येशुका बारेमा जानकारी समेत दिइने गरेको बताइन्छ । नेपालमा झन्डै ४ सय वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको इतिहास छ । यस्तै, स्कुले विद्यार्थीलाई पनि क्रिसमसले छोएको छ ।

















