Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको वन कार्यालयमा उपमहानगरले टाँस्यो सूचना

हाम्रो कोशी आवाज
पुष ११ २०७९, सोमबार
धरानको वन कार्यालयमा उपमहानगरले टाँस्यो सूचना

धरानः धरान उपमहानगरपालिकाले धरानमा निर्माणाधीन वन कार्यालयको भवनमा सूचना टाँसेको छ ।
निर्माणाधीन प्रदेश वन निर्देशनालयको भवन धरान उपमहानगरपालिकामा नक्सापास नगरी बनाएको भन्दै सूचना टाँस गरिएको हो । धरानको तीनकुनेमा नक्सा पास नगरी र स्वीकृती नलिई भवन निर्माण गरेको हुनाले सूचना टाँसिएको मेयर हर्कराज राई साम्पाङले जानकारी दिए । उनले निर्माण रोक्न आग्रहसहितको सूचना टाँसिएको जानकारी दिए ।
‘धरान उपमहानगरपालिकाको क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनु पर्ने र नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने नियम रहेको हुँदा सो नियमअन्तर्गतको कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर बनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रकृयामा आउनु होला,’ सूचनामा लेखिएको छ, ‘अन्यथा अवैध संरचना हटाउनु पर्ने नियमानुसार कारबाही अघि बढाइने व्यहोरा जानकारी गराइन्छ ।’
अहिले चारवटा भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । र भवन निर्माण सकेर सर्ने तयारीमा रहे पनि भवन निर्माणको नक्सा पास गरिएको छैन । धरान २० को विष्णुपादुकामा उपमहानगरपालिकाले साबुन उद्योग खोल्न लागेको थियो । तर सवडिभिजन वन कार्यालयले वनभित्र उद्योग खोल्न नपाउने भन्दै मुद्दा लगाएर काम नै रोकिदिएको थियो । वनले साबुन उद्योग खोल्न नदिएपछि वन पनि नियममा आउनुपर्ने मेयर साम्पाङको तर्क छ ।
साबुन उद्योग खोल्ने भनिएको स्थानमा केही माथिसम्म वस्ती बसिसकेको छ । ‘वस्तीचाहिँ बस्न दिने वनले वस्तीदेखि धेरै तल साबुन उद्योग खोल्छु भन्नचाहिँ नपाउने, मुद्दा नै हाल्ने ?’ मेयर साम्पाङको तर्क छ । साबुन उद्योग धरान उपमहानगरपालिकाको स्वामित्वमा खोल्न लागिएको र आम्दानी पनि उपमहानगरकै हुने बताउँदै मेयर साम्पाङले साबुन उद्योगमा दलीय षडयन्त्र भएको समेत बताएका छन् ।
यसैबीच अधिवक्ता स्वागत नेपाल पनि मेयर साम्पाङको समर्थनमा धरानमा आएका छन् । उनले पनि संविधानको मर्मविपरीत मुद्दा लगाइएको टिप्पणी गरेका छन् । उनले भनेका छन्– यसभन्दा अघि साबुन बनाउने स्थानमा कुनै पार्टीको नाममा बाल उद्यान निर्माण गर्ने भनेर वनले निर्णय गरेको पाइएन, उपमहानगरपालिकाले नै निर्णय गरेको थियो । पार्टीको नेताको नाम जोडेर पार्क बनाउनचाहिँ दिने तर जनताको लागि चाहिने साबुन उद्योगचाहिँ बनाउन नदिने कस्तो निर्णय हो ?

प्रकाशित मिति: पुष ११ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend