धरानः धरान उद्घाटन खेलमा १२ वर्षपछि सहारा र धरानको जम्काभेट हुने भएको छ ।
पुस १४ गते अर्थात् बिहीबारदेखि पोखरामा आहा रारा पोखरा गोल्डकप सुरु हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगितामा आयोजक सहारा क्लब र धरान फुटबल क्लब भिड्नेछन् । यी दुई फुटबल क्लबबीच १२ वर्षपछि आमनेसामने हुन लागेका हुन् । उद्घाटन खेल नै यही दुई क्लबबीच प्रतिस्पर्धा हुनेछ । अहिले हुन लागेको प्रतियोगिता २२ औं संस्करणको हो ।
यसैबीध धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले प्रतियोगितामा प्रतिस्पर्धी खेलाडीहरुलाई विदाइ गरेका छन् । मङ्गलबार धरान फुटबल क्लबको कार्यालयमा आयोजित विदाइ कार्यक्रममा बोल्दै मेयर साम्पाङले धरानका खेलाडीहरुलाई जितेर आउन आग्रह गरेका छन् । ‘हिउँद लाग्यो, खेलको मौसम छ, खेलको राजा नै फुटबल हो भन्ने बुझेका छौं, फुटबल खेललाई धरानमा प्रवद्र्धन गर्ने, विकसित बनाउन धरान फुटबल क्लबले योगदान गरेको छ भन्ने मैले बुझेको छु ।’ मेयर साम्पाङले भने, ‘इतिहास रचेको धरान फुटबल क्लबका खेलाडीहरुले अत्यन्तै उत्साहका साथ जितेर फर्किनुहुन्छ भन्ने आशा र विश्वास लिएको छु ।’
१० औं संस्करणको गोल्डकपमा उद्घाटनमै मैदान उत्रिएको धरानलाई सहाराले १–० गोल अन्तरले पराजित गरेको थियो । ९ औं संस्करणमा पनि यी दुई क्लबबीच भएको प्रतिस्पर्धामा सहाराले धरानलाई नै जितेको थियो । २–१ गोल अन्तर हुन पुगेको यी दुई क्लबबीचको प्रतिस्पर्धा योपटक भने चुनौती देखिएको छ ।
धरान फुटबल क्लबबाट प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलाडी मात्रै ५ जना रहेका छन् । प्रकाश बुढाथोकी, रोमन लिम्बू, विक्रम धिमाल, सुरज विकलगायत ए डिभिजनका खेलाडीहरु सम्मिलित हुनुले पनि सहाराका लागि चुनौती बन्न सक्ने कोच सागर घिमिरेले जानकारी दिए । ‘हामी यसपटक फाइनलमै पुग्ने टिम बनाएका छौं’, उनले भने, ‘खेलाडीहरुले पनि मिहिनेत पनि गरिरहेका छन्, यसपटक अवश्य फाइनलमै पुग्नेछौं र भिड्नेछौं ।’ धरान फुटबल क्लबले वर्षेनी पोखरामा सहभागिता जनाउँदै आएको छ । पहिलो आहा गोल्डकप (२०५९) देखि धरानको उपस्थिति जनाउँदै आएको छ ।
फुटबलका लागि धरान र पोखराले राष्ट्रियस्तरमा चिनाउँदै आएका छन् । बुढासुब्बा गोल्डकपबाट नै सहारा प्रेरित भएको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । ‘०५५ सालमा अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप सञ्चालन गरेर अघि बढिसकेपछि त्यसको तीन वर्षपश्चात् हामीले पोखराका क्लबलाई बोलाएर धरानमा धरान र पोखराको भगिनी साइनो जोड्दै त्यहाँ पनि गोल्डकप सञ्चालन गर्नुपर्छ भनेर भन्यौं र २२ औं आहा रारा गोल्डकप शुरु गरिरहनुभएको छ, यसको देन र श्रेय धरान फुटबल क्लबले गरेको हो,’ उनले थपे, ‘यसले धरान र पोखराबीचको सहकार्य र सम्बन्ध थप बढाउनेछ ।’ बिजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । तस्वीरः हाम्रो कोशी आवाज

