धरान : धरान-१५ मा रहेको हिविस्कस इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूलाई ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ ।
बुधवार विद्यार्थीहरूलाई सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जानकारी गराउने उद्देश्यले सचेतना कार्यक्रम आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ।
सडक दुर्घटना कसरी हुन्छ? त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ? सवारी साधन कसरी चलाउने? भन्ने लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी दिइएको थियो ।
कक्षा ८, ९ र कक्षा १० का विद्यार्थीहरू सवारी चलाउने क्षमता भइसकेकोले उनीहरूलाई सवारी चलाउने बारेमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरीक्षक नारदप्रसाद दाहालले प्रशिक्षण दिएका थिए ।
तीव्र गतिमा सवारी चलाउँदा के हुन्छ?, सवारी दुर्घटना के कारणले हुन्छ त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र यदि सवारी दुर्घटना भइहालेमा के गर्ने लगायतका विषयमा दाहालले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।
विद्यार्थीहरूलाई सवारी दुर्घटनाका विषयमा जानकारी सहित सचेतना गराउँदा उनीहरू सवारी चलाउँदा सचेत हुने भएकोले विद्यार्थीहरूका लागि कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल गङ्गाराम राईले जानकारी दिए ।