Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘नयाँ राजा’ घोषणा

हाम्रो कोशी आवाज
पुष १५ २०७९, शुक्रबार
धरानमा ‘नयाँ राजा’ घोषणा

धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष तमु ल्होसार मनाएका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै मेयर साम्पाङले मौलिक चाडपर्वले मौलिकता जोगाउन भूमिका खेलेको बताए । उनले मौलिकता, पहिचान र जातीय अस्तित्वलाई बचाउन यस्ता चाडपर्वले सघाउनुका साथै पुस्तान्तरण गर्न पनि सहयोग गर्ने बताए ।
नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समिति र तमू ह्युंल छेंज धीं गुरुङ राष्ट्रिय परिषद धरान कार्य समितिको आयोजनामा धरानमा तमू ल्होसार मनाइएको हो ।
तमु राजा घोषणा
यसैबीच शुक्रबार आयोजित कार्यक्रममा तमु राजा घोषणा गरियो । बुधबार नै घैला फुटाउने प्रतियोगिता आयोजना गरिएको थियो । यस वर्षको तमु राजा धरान–१६ का वरुण घले गुरुङलाई नयाँ तमु राजा घोषणा गरिएको हो । करिब २३ जना घैला फुटाउने कार्यक्रममा सहभागी भएका उनले मात्रै घैला फुटाए । घैला फुटाउन सफल भएपछि उनलाई धरान क्षेत्रका नयाँ तमु राजा घोषणा गरिएको हो । उनी धरान–१६ निवासी हुन् । उनलाई सम्मान गरिनुका साथै नगद १५ सय रुपैयाँ र १५ तोला चाँदीको तक्मा (मेडल), फेटा गुथिएको थियो ।
अर्को वर्ष पुनः अर्को नयाँ राजा चयन गरिन्छ । उनी राजा चयन भएपछि अधिकांशले खादाले स्वागत गरेका थिए । ‘उनलाई अब एक वर्षका लागि तमु राजा भनेर बोलाइने अर्थात् सम्बोधन गरिन्छ’, नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलका अध्यक्ष बकसमान तमु गुरुङले भने । उनलाई गुम्बामा हुने विविध कार्यक्रममा राजाको रुपमा बोलाएर आसन ग्रहणसहितको कार्यक्रम गरिने उनले जानकारी दिए । धरानमा यसरी नै वर्षेनी तमु राजा चयन हुने गरेको गुम्बाका सचिव कमला गुरुङले जानकारी दिइन् । ‘गुरुङको परम्परा जोगाउन यस्तो कार्य गर्दै आएका छौं’, उनले भनिन् । कार्यक्रममा अन्य जातिका मानिसहरु पनि गुरुङ पहिरनमा सजिएर आएको देखिन्थ्यो । धरान–११ की रोमा लिम्बूले आफूलाई गुरुङ जातिको पहिरन मन पर्ने हुनाले र यो चाडबारे जानकारी लिन आइपुगेको बताइन् ।
किन मनाइन्छ ल्होसार ?
हरेक पुस १५ गते मनाइने यो परम्परागत चाडका अवसरमा शुक्रबार विविध सांस्कृतिकलगायतका कार्यक्रम पनि भए । कार्यक्रममा छेलो हान्ने, म्युजिक चियर, बालबालिकाको खेलकुद, सांस्कृतिक कार्यक्रम, लोकप्रिय नृत्य कौडा नृत्य पनि पस्किइएको थियो ।
तमु हयुल छोंज धी गुरुङ राष्ट्रिय परिषद्की जिल्ला उपाध्यक्ष टंककुमारी गुरुङका अनुसार पहिला पहिला तमुहरुको राज्यमा जो वीर छ उसैलाई राजा घोषणा गरिने गरिन्थ्यो । ‘त्यसको लागि दौडिने, छेलो हान्ने, घैलो फुटाउने प्रतियोगिता भइरहन्थ्यो । जसले जित्छ उही राजा हुन्थ्यो, त्यसैको निरन्तरता हो यो ।’ उनले भनिन् ।
यस वर्ष बाघ (तो ल्हो) लाई विदा गरेर बिरालो (हि ल्हो) वर्गलाई स्वागत गरिएको छ । तमु हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समितिले धरान–१८ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलमा भेला भई कार्यक्रम आयोजना भएको हो । नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलका अध्यक्ष अध्यक्ष बकसमान गुरुङको अध्यक्ष्ँतामा भएको कार्यक्रममा संरक्षक भद्रमान गुरुङ, गुम्बाका लामा गुरु खेम्पो नरेश गुरुङलगायत विभिन्न जातजातिहरुको पनि सहभागिता रहेको थियो ।
यसअघि अघिल्लो दिन गुम्बा सजावट तथा सरसफाइ, पूजाआजालगायतको कार्यक्रम गरिएको थियो भने लामाहरुबाट पूजापाठ, आफ्नै मौलिक परम्पराअनुसार विभिन्न सांस्कृतिक कार्यक्रम, गाजाबाजा तथा पट्का पट्काई हर्षोल्लासका साथ स्वागतका साथ पर्व भित्रयाउने कार्यक्रम गरिएको थियो । यस्तै, १५ गते ग्रह शान्तिपाठ, पूजापाठ, प्रसाद ग्रहण तथा तमु ल्होसारको उद्घाटन कार्यक्रम, शुभकामना आदानप्रदान तथा विभिन्न सांस्कृतिक तथा तमु राजा घोषणा कार्यक्रम राख्ने गरिन्छ ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । प्रत्येक १२ नयाँ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रुपमा लिइन्छ । यो पर्व चीनमा विकास भएर तिब्बत हुँदै नेपाल आइपुगेको संस्कृतविद्हरु बताउँछन् । राम्रो लगाउने र मीठो खाने यो सांस्कृतिक पर्व नेपाललगायत चीन, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायतका देशमा मनाइन्छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: पुष १५ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend