Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरीका विद्यार्थी कृषि क्षेत्रको भ्रमणमा

हाम्रो कोशी आवाज
पुष १६ २०७९, शनिबार
धरानको सुनाखरीका विद्यार्थी कृषि क्षेत्रको भ्रमणमा

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थी कृषि क्षेत्रको भ्रमणमा पुगेका छन् ।
कक्षा-११ मा अध्ययनरत छात्रछात्राहरु कृषि क्षेत्रको भ्रमणमा पुगेका थिए । विद्यार्थीहरूले धरान-४ वसन्तटारको सोताङ अर्गानिक फर्मको अवलोकन गरेका हुन् । अर्गानिक तरकारीका अभियन्ता कृष्ण राईको साथमा अर्गानिक तरकारी खेतीको अवलोकन गर्नुका साथै बङ्गुरपालन, माछापालन, गाईपालनको पनि उनीहरूले गरे ।
म्यानेजमेण्ट सङ्कायमा अध्ययनरत सावित्रा राई साम्पाङले कसरी अर्गानिक तरकारी उत्पादन गर्र्न सकिन्छ र आफूले घरमै करेसाबारीमा पनि तरकारी उत्पादन गरेर खान सकिनेलगायतको कुरा सिकेको बताइन् । उनले श्रम गरे कृषि क्षेत्रबाटै आम्दानी गर्न सकिने र विदेशसमेत गइरहनुनपर्ने सन्देश अभियन्ता राईबाट सिकेको बताइन् । ‘धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालीहरुले श्रम गरिरहनुपर्छ भनिरहने गरेको सुनेकी छु’, उनले भनिन्, ‘थप कुरा यहाँको सञ्चालक अर्थात् अर्गानिक तरकारीका अभियन्ता कृष्ण सरबाट सिक्न पाइयो, पक्कै पनि उहाँले श्रम गरेरै सफलता हासिल गर्नुभएको पाइयो ।’
छात्र ओङदी तामाङले अर्गानिक तरकारीलगायत कृषि क्षेत्रको सम्भावनाबारे बुझ्दा आफू पनि थप हौसिएको बताए । उनले आफूले कक्षाकोठामा सैद्धान्तिक ज्ञान मात्रै लिएको बताउँदै फर्ममा आएपछि प्रयोगात्मक र व्यवहारिक ज्ञान पाइएको समेत बताए । ‘किताबी ज्ञानमात्रै नभएर हामीले व्यवहारिक ज्ञान समेत पाएका छौं’, उनले भने । उनले रासायनिक मलको प्रयोगबाट उत्पादित तरकारी वा कृषिजन्य वस्तुहरु सेवन गर्दा स्वास्थ्यमा असर पर्ने लगायतका कुराहरुको पनि ज्ञान पाएको बताए ।
एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले अर्गानिक तरकारी वा कृषिजन्य वस्तुहरुको उत्पादन, रासायनिक मलको प्रयोगबाट उत्पादित कृषिजन्य सामग्रीले मानिसमा पार्ने प्रभावलगायतको कुरा विद्यार्थीले सिकेको बताए । उनले बङ्गुरपालन, माछापालन, गाईपालनका साथै टमाटर खेती, अन्य तरकारी खेतीबारे पनि विद्यार्थीले ज्ञान पाएको बताए ।
विद्यार्थीले त्यहाँ सिकेका कुराहरुको रिपोर्ट तयार गर्ने र प्रस्तुत गर्ने समेत जानकारी दिए । प्रस्तुतिका आधारमा प्रथम, दोस्रो र तेस्रो छुट्याइने र प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने समेत कार्यक्रम राखिएको उनले जानकारी दिए । कृषि क्षेत्रको भ्रमणले कुनै न कुनै विद्यार्थीको लागि ‘टर्निङ प्लाइन्ट’ ल्याउने आशा पनि गरेको प्रिन्सिपल राईले बताए । विद्यार्थीसँगै पुगेका प्लस टु कोअर्डिनेटर तपकुमार राईले भ्रमण विद्यार्थीको लागि उपलब्धिमूलक भएको बताए ।
कार्यक्रममा कृषक राईले अर्गानिक तरकारीको उपभोग नगर्नाले विभिन्न रोगहरू निम्तिन सक्ने बताए । ‘तरकारीमा विषादी प्रयोग गर्दा कृषकलाई पनि असर गर्छ, उपभोक्तालाई त झनै असर गर्छ,’ उनले भने, ‘तपाईंहरू जस्तो विद्यार्थीले पनि यसबारे सचेतना फैलाउनुपर्छ ।’
उनले आफूले ५५ रुपैयाँबाट हाल करिब २ करोडको मालिक समेत बनेको विद्यार्थीलँई सुनाए । ‘५५ रुपैयाँमा मैले व्यवसाय शुरु गरेको हुँ तर अहिले मेरो सम्पत्ति नै २ करोड बढीको भइसकेको छ’, उनले भने, ‘अहिले आएर चाहिँ म अझै हौसिएको छु, अझै यसलाई बृहत बनाउँदैछु ।’ उनले उनले आफू जिल्लाकै अगुवा किसानको पहिचान बनाउँदै राष्ट्रियस्तरको पुरस्कारबाट पुरस्कृत समेत भइसकेको बताए ।
२०५५ सालमा सुरु गरेको तरकारीखेती हाल आएर सोताङ अर्गानिक एग्रिकल्चर रिसर्च सेन्टर नामक कृषि फर्ममा परिणत भइसकेको उनले जानकारी दिए । राईले अर्गानिक तरकारीखेती र पशुपालनबाट राम्रो आम्दानी गर्न थालेपछि धरान बसन्तपुरको सिंगो बस्ती यतिबेला अर्गानिक तरकारीखेतीतर्फ आकर्षित भएको समेत जानकारी दिए ।
किसान राईले ४२ कठ्ठा जमिनमा लगाएको तरकारी र गाईको दूध बिक्री गरेर मासिक चार लाख बढी कमाउने गरेको बताए । रासायनिक मल र विषादी निषेध गरी अर्गानिक तरकारी खेती थालेका राईले गाई, वटा बंगुर, र एक सयभन्दा बढी कुखुरा पालेका छन् । विषादी र रासायनिक मल प्रयोग गरी उत्पादन गरेको तरकारीले वातावरण प्रदुषित गर्नुका साथै मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले आफूले अर्गानिक तरकारीखेती सुरु गरेको राईको भनाइ छ । २०६२ सालदेखि सुरु भएको अर्गानिकखेती हाल आएर डेढ सय घरपरिवारले व्यावसायिक रूपमा गरिरहेका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: पुष १६ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend