धरानः धरानमा भव्यताका साथ मेयर कप फुटबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
प्रतियोगिता गत पुस ७ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा धरानभरीका २६ विद्यालयले सहभागिता जनाएका थिए । धरान उत्सव २०७९ को अवसरमा अन्तर माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता धरान उपमहानगरपालिकाको आयोजना भएको हो ।
एन्फाका मानार्थ उपाध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मानार्थ उपाध्यक्ष राईले फुटबललाई थप व्यवसायिक बनाउन सबै पक्ष लाग्नुपर्ने बताए । उनले देशको र स्थानीय तहको बजेट ५ प्रतिशत मात्रै भएपनि खेलकुदमा छुटयाउन सके खेलकुद क्षेत्रको भविष्य राम्रो हुने ठोकुवा गरे ।
उनले धरान फुटबल क्लबले खेलकुदको क्षेत्रमा योगदान गरेको तर अहिले अप्ठयारो स्थिति रहेको समेत जानकारी दिए । उनले बुढासुब्बा गोल्डकपलाई नाफामुखी बनाएर नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने आफ्नो योजना रहेको बताए । उनले फागुन १३ गतेबाट २० गतेसम्म २३ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप प्रतियोगिता आयोजना गर्ने क्लबबाट निर्णय भइसकेको समेत सुनाए ।
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिका मेयर साम्पाङले खेलकुद भनेको अनुशासन सिकाउने विधि पनि भएको बताए । उनले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने पनि बताए । आगामी वर्ष मेयर कप अझै व्यवस्थित र भव्यरुपमा आयोजना गर्ने पनि बताए ।
धरान मेघालाई उपाधि
प्रतियोगिताको उपाधि धरान मेघा कलेजले जितेको छ । सोमबार भएको फाइनल खेलमा धरान–१८ स्थित माउण्ट हर्मन एकेडेमीलाई ३–० गोल अन्तरले हराउँदै धरान मेघाले उपाधि जितेको हो ।
पहिलो खेलमा सुगम जिमी र शेखर कुँवरले एक एक गोल गर्दै मेघालाई अगाडि बढाएका थिए । दोस्रो हाफमा अंकित कटुवालले थप एक गोल गर्न सफल भएका थिए । प्रतियोगितामा धरान मेघाकै राजीव खड्का वेष्ट गोल किपर, अंकित कटुवाल वेष्ट हाइस्कोरर र वेष्ट प्लेयर सुगम जिमी घोषित भए । मेघाले नगद ३० हजार रुपैयाँ जितेको छ भने उपविजेता बनेको माउन्ट हर्मनले २० हजार रुपैयाँ पाएको छ । कार्यक्रमका प्रमुख अतिथि एन्फाका मानार्थ उपाध्यक्ष राई, मेयर साम्पाङ, धरान–१८ का वडाध्यक्ष प्रविन राई, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, कार्यपालिका सदस्य सिर्जना नेपाललगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।























