धरानः धरान उपमहानगरपालिकाले सामूहिक लोकनृत्य प्रतियोगिता आयोजना गरेको छ ।
धरान उत्सवको अवसरमा उपमहानगरपालिकाले नगरस्तरीय अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालय गरेर १८ विद्यालयका छात्रछात्राले सहभागिता जनाएका थिए । धरान-१५ स्थित शिक्षा सदन माविको भवनमा सो प्रतियोगिता आयोजना भएको थियो ।
प्रतियोगितामा धरानस्थित शारदा बालिका मावि प्रथम, के के इन्टरनेशनल स्कुल द्वितीय र आइडियल इङलिस बोर्डिङ स्कुल तृतीय बनेको छ । धरान उत्सवकै अवसरमा उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने शिक्षा महाशाखा प्रमुख शम्भुप्रसाद पाण्डेले जानकारी दिए । प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः नगद १५ हजार, १० र ५ हजार साथै प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले यस्ता प्रतियोगिताले बालबालिकामा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने बताए । ‘यस्ता प्रतियोगिता आयोजना हुँदा एकातर्फ हाम्रो संस्कार, संस्कृतिको जगेर्ना हुन्छ भने अर्कोतर्फ बालबालिकामा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन सघाउँछ ।’ कार्यक्रममा उनले भने ।














