धरानः इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले कोर्ष पूरा गरेका आफ्नो १० औं व्याचका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेका छन् ।
कलेजले आइतबार धरान कलेज रोडस्थित सर्कल क्याफेमा विदाइ कार्यक्रमको आयोजना गरी कोर्ष पूरा गरी इन्टर्नका लागि जान लागेका २० जना विद्यार्थीहरुलाई शुभकामना दिँदै विदाइ गरेका हुन् । कलेजमा ६ महिनाको कोर्ष पुरा गरेका ११ जना विद्यार्थी भारतको गुजरात स्थित चार तारे होटल फन रेसिडेन्स र ९ जना विद्यार्थी काठमाडौंस्थित पाँच तारे होटल हयात होटलमा जान लागेका हुन् ।
गुजरातस्थित गान्धी नगरमा अवस्थित चेन होटलको रुपमा रहेको फन रेसिडेन्सको भारतमा मात्र ८० वटा शाखा होटल रहेको इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टका सिइओ लोकेन्द्र श्रष्ठले जानकारी गराए । इन्टर्नका लागि गुजरात जाने विद्यार्थीहरुलाई फन रेसिडेन्सले खान, बस्न र न्यूनतम पारिश्रमिक सुविधा समेत दिनेछ । यसअघि यही इन्टर्नका लागि चाइना र दुबई जाने विद्यार्थीले करिब साढे दुई लाख रुपैयाँ खर्च गर्नुपथ्र्यो । अहिले जान आउन थोरै खर्च लाग्नुका साथै सेवा सुविधा पनि राम्रो भएको उनले जनाए ।
कोर्ष पूरा भएका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, सिइओ लोकेन्द्र श्रेष्ठ, एकेडेमिक डाइरेक्टर सन्जीव राई, धरान उपमहानगरपालिका वरिष्ठ लेखा परीक्षण अधिकृत रमेश शाह लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा कलेजले आयोजना गरेका सेफ कम्पिटसन विजेता टिमको नाम समेत घोषणा गरिएको थियो । सेफ कम्पिटसनमा कृपा तामाङ, सन्तोष श्रेष्ठ, सन्जिता श्रेष्ठ, आसिका मगर र लक्ष्मी राई विजेता घोषित भइन् । उनीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।