धरानः धरान-१ स्थित ‘धरान मोडल कलेज’ का विद्यार्थी सामाजिक कार्यमा जुटेका छन् ।
उनीहरुले मन्दिर सरसफाइदेखि रक्तदान कार्यक्रममा समेत सहभागिता जनाएर सामाजिक उत्तरदायित्व पूरा गरेका हुन् । विद्यार्थीलाई सामाजिक उत्तरदायित्वको भावना जगाउन रक्तदान र मन्दिर सरसफाइ कार्यक्रम क्याम्पस प्रमुख प्रविन राईले जानकारी दिए । विद्यार्थीले धरानको सिंहदेवी चोकको सडक सरसफाइ गर्दै दन्तकाली मन्दिरसम्म सरसफाइमा जुटेका थिए । यस्तै, दन्तकाली मन्दिर सरसफाइसँगै सडक सफा गर्दै विद्यार्थीहरु बुढासुब्बा मन्दिर पनि सरसफाइ गर्न जुटेका थिए ।
यस्तो कार्यक्रमले विद्यार्थीहरुलाई बढी व्यवहारिक र सामाजिक बनाउने हुनाले पनि यस्तो कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख राईले बताए । ‘शिक्षासँगै प्रविधि र सामाजिक उत्तरदायित्व समेत सिकाउने उद्देश्यले २०६६ सालमा धरानका प्रतिष्ठित बुद्धिजीवी समाजसेवी र विभिन्न विश्वविद्यालयमा पढाउने प्राध्यापकहरुबाट स्थापित कलेजले यस्ता गतिविधिमा पनि सक्दो जोड दिँदै गएको छ’, उनले थपे, ‘क्याम्पसहरुले यस्ता कोरा विद्यार्थी उत्पादन गरेको देखेर युग सुहाउँदो शिक्षा, प्रविधि व्यवहारिक र सामाजिक उत्तरदायित्व एकैसाथ सिकाउन धरान मोडल कलेजले सहयोग गर्दै आएको छ ।’
रक्तदानमा उत्साह
अध्यापक, विद्यार्थीहरुले बिहीबार रक्तदान गरेका छन् । रक्तदानमा ५० पिन्ट रगत सङ्कलन भएको अध्यापक तथा कार्यक्रम संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा रेडक्रस सोसाइटी सुनसरीका कार्यालय प्रमुख किरण कार्की, कलेजका निवर्तमान अध्यक्ष जीवन राईलगायत अधिकांश विद्यार्थीको उपस्थिति थियो । धरानमा रक्तदान कम हुँदा दैनिक रगत अभाव भइरहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीका प्रमुख किरण कार्कीले बताए । रक्तदान कार्यक्रम प्रत्येक वर्ष र आवश्यक परेमा जुनसुकै समयमा आयोजना गर्न सकिने धरान मोडल कलेजका क्याम्पस प्रमुख राईले जानकारी दिए । कार्यक्रममा धरान मोडल कलेजका क्याम्पस प्रमुख राई, कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठलगायतले रक्तदातालाई प्रमाणपत्र समेत प्रदान गरेका थिए ।
कलेजमा खेल सप्ताह ०७९ अन्तर्गत यो कार्यक्रम पनि राखेको हो । विद्यार्थीको शारीरिक, बौद्धिक एवं मानसिक विकास गराउनको लागि वर्षेनी सप्ताहव्यापी विभिन्न खेल एवं सिर्जनात्मक कार्यक्रमहरू आयोजना भइरहेको कलेजले जनाएको छ । पुस २९ गतेसम्म आयोजना हुने खेल सप्ताह भोलि सकिँदैछ । उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले गरेका थिए ।
क्याम्पसका बिएसडब्लयु कोअर्डिनेटर तथा खेल सप्ताहका संयोजक विष्णु खनालले कलेजले स्थापनाकालदेखि नै विद्यार्थीहरुको शारीरिक, बौद्धिक र सिर्जनात्मक पक्षलाई उजागर गर्न खेलकुद सप्ताह गराउँदै आएको बताए । उनले सप्ताहअवधिभर हाजिरीजवाफ, फुटसल, चेस, टेबलटेनिस, ब्याडमिन्टन, क्यारेम, चाइनिज चेकर, फुटबललगायतका खेलहरु हुने संयोजक समेत रहेका उनले जानकारी दिए । उनले विद्यार्थीहरुको बौद्धिक, शारीरिक विकास हुने भएकोले कलेजले अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको बताए ।
२०६६ सालमा स्थापना भएको धरान मोडल कलेजले अहिले सयौं विद्यार्थीको भविष्य उज्ज्वल बनाउन गुणस्तरीय शिक्षा दिँदै आएको र कलेजले एक किसिमको छवि बनाएको कलेजका प्रमुख राई बताउँछन् ।



























