धरानः धरान-१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको तयारी थालेको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीले सो जानकारी दिएको हो । ‘९ औं युनाइटेड गोर्खा एकेडेमी २०७९’ प्रतियोगिता माघ ३ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने एकेडेमीका प्राचार्य पेम्बा शेर्पाले जानकारी दिए । ‘विद्यार्थीहरुको चौतर्फी विकास तथा पारस्परिक सम्बन्धको निरन्तरताको लागि खेलकुद’ भन्ने मूल नाराका साथ युनाइटेड गोर्खा एकेडेमी भलिबल कप आयोजना गरिएको उनले जानकारी दिए ।
छात्रछात्रा दुवैतर्फका बिजेतालाई २३ हजार रुपैयाँ, मेडल साथै प्रमाणपत्र प्रदान गरिने प्राचार्य शेर्पाले जानकारी दिए । यस्तै, उपबिजेता अर्थात् दोस्रो हुनेलाई १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
यस्तै, छात्रछात्रा दुवैतर्फ वेष्ट सर्भिस, वेष्ट डिफेन्स, वेष्ट लिफ्टर, वेष्ट स्पिकर, वेष्ट ब्लकर, वेष्ट प्लेयरलाई १२ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यापक सन्तोष पोखरेलले जानकारी दिए । यस्तै, छात्रछात्रा तुवैतर्फ अनुशासित टिमलाई ५ हजार नगद र प्रमाणपत्र साथै उत्कृष्ट टिम प्रशिक्षकलाई १५ सय रुपैयाँ प्रदान गरिने पनि उनले जानकारी दिए । यस्तै, प्रत्येक खेलमा एकजना खेलाडीलाई म्यान अफ दि म्याच घोषित गरिने खेल प्रशिक्षक तुलाराम राईले जानकारी दिएका छन् ।
प्रतियोगितामा युनाइटेड गोर्खा एकेडेमी ए र बि टिम, तरहरा मोडल स्कुल, ज्ञान दर्पण एकेडेमी, सयपत्री इङलिस बोर्डिङ स्कुल, डिसिए, समिट स्कुल, पूर्वाञ्चल स्कुल, नमूना एकेडेमी, बाल विकास, हाम्रो बोर्र्डिङ, प्रदेश बोर्डिङ, जुनियर पायोनियर स्कुल, सेक्रेड हार्ट, पुलिस स्कुल, लर्ड बुद्ध, धरान आदर्श, आइडियल स्कुुल, आवर होम स्कुल, डिपोट स्कुल लगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रिन्सिपल शेर्पाले बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन वर्षेनी यो प्रतियोगिता आयोजना गर्दै आएको र विद्यालयले पुरस्कारमा मात्रै करिब दुई लाख रुपैयाँ बढी खर्चिर्दै आएको बताए ।
८ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता २०७८ अन्तर्गत छात्रतर्फको उपाधि इटहरीको सयपत्री स्कुलले जितेको थियो । यस्तै, छात्रातर्फको उपाधि इटहरीको नमूना स्कुलले जितेको छ ।
युनाइटेड गोर्खा एकेडेमीको स्कुल मैदानमा आयोजना हुने प्रतियोगिता वर्षेनी आयोजना गर्दै आएको प्रिन्सिपल शेर्पाले जानकारी दिए । शुरुमा पहिलो हुने टिमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारबाट शुरुवात गरिएको प्रतियोगिताको राशी पनि वृद्धि गरिँदै लगिएको उनले जानकारी दिए । प्रिन्सिपल शेर्पाले विशेषतः पढाइका साथै खेलकुद र मानसिक विकासका लागि यस्तो प्रतियोगिता आयोजना गर्दै आएको बताए ।



