धरानः किराती समुदायहरुको नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटबल प्रतियोगिता ५०८३ को फाइनलमा धरान मेघा अल स्टार टिम र विर्तामोड, झापा टिम फाइनलमा भिड्ने भएका छन् ।
धरान बास्केटबल संघको आयोजनामा शुरु भएको दुईदिने प्रतियोगितामा मेघा अल स्टारले होलिल्याण्ड वि, धिरान आर्दश, मेघा ए र होलिल्याण्ड ए टिमलाई पराजित गर्दै उपाधिका लागि फाइनमा आफ्नो स्थान सुरक्षित बनाएका थिए । यसैगरी विर्तामोड झापाले होलिल्याण्ड सि, डिपो स्कुल र युवा जागृति क्लबलाई पराजित गर्दै फाइनल यात्रा गरेका हुन् ।
शुक्रबार औपचारिक रुपमा शुरु भएको प्रतियोगिताको उद्घाटन किराती संस्कार अनुसार गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि १ न. प्रदेश सांसद माननिय रमेशकुमार बस्नेतले चिन्डो (चिण्डो) बाट बास्केटबलमा रक्सी छर्किन्दै कार्यक्रमका विशेष अतिथि धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठले ढोल र धरान १८ वडाध्यक्ष प्रविण राईले झ्याम्टा बजाएर गरिएको थियो । किराती संस्कारमा चिण्डोलाई शुद्धताको प्रतिकको रुपमा मानिन्छ । किराती समुदायले सुख र दुख दुवै कार्यमा चिण्डोको प्रयोग गर्ने गर्दछन् । प्रतियोगिता किरात न्यु इयर इभको रुपमा मनाउँदै आयोजना गरिएको हो ।
प्रतियोगिताका बिजेता टिमले नगद सात हजार र उपविजेता टिमले नगद ३ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडिले नगद १ हजार ५ सय र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिमसँगै, धरान वाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, होलिल्याण्ड ए, होलिल्याण्ड वि, होलिल्याण्ड सि, सियोन स्कुल, लोटस स्कुल, युवा जागृति क्लव, धरान आर्दश, डिपो, काम्रेल, चिल्डे्रन स्कुल र मिराकल टिम गरी १८ टिमले सहभागिता जनाएको छ ।
सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीको सभाध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राई, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, धरान १० वडाध्यक्ष विवेक राई, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पूर्ण खेल धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा भइरहेको छ । मेघा अलस्टार र विर्तामोडबीचको फाइनल खेल शनिबार बिहान ९ बजे हुनेछ ।
