धरानः नेपालको प्राचीन र मौलिक सम्वत येले दोङ (यलम्वर सम्वत) ५०८३ को अवसरमा किरात प्रदेश नामाकरणको माग पुनः एक पटक जोडदारका साथ उठेको छ ।
किरात राई यायोक्खाले संस्थागत रुपमा उठाउँदै आएको माग किराँती राजा यलम्बर हाङको सम्झना गर्दै किराँती नया वर्ष मनाउने क्रममा उठेको हो ।
खोटाङबाट निर्वाचित प्रदेश १ का सांसद पाँचकर्ण राईको विशेष उपस्थितिमा धरानस्थित साकेला पार्कमा रहेको हाङ यलम्वरको पूर्ण कदको प्रतिमामा दीप प्रज्ज्वलन गरिएको छ । सो अवसरमा सांसद राईले प्राचीन ऐतिहासिकता र सभ्यताका आधारमा प्रदेश १ को नाम किरात प्रदेश हुनुपर्ने माग जायज रहेको बताए ।
यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले प्रदेश नामाकरणका सन्दर्भमा ‘किरात’ नाम छुट्न नहुने बताए । उनले सांसद राईलाई आफूहरुले सडकमा शान्तिपूर्वक र प्राज्ञिक रुपमा उठाइरहेका विषयलाई सदनमा जोडदार रुपमा उठाइदिन आग्रह गरे ।
यलम्बर सम्वत ५०८३ को अवसरमा किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिले धरान १७ स्थित साकेला पार्कमा दीप प्रज्ज्वलन गर्दै येले दोङलाई राष्ट्रिय सम्वतको मान्यता प्रदान गर्न समेत माग गरेको छ ।
किरातहरुले मान्दै आएको नेपालको प्राचीन तथा मौलिक सम्वत येले दोङ (यलम्बर सम्वत) लाई राज्यले राष्ट्रिय सम्वतका रुपमा घोषणा गरी प्रचलनमा ल्याउनु पर्ने बताए । वर्तमान सरकारले येलेदोङलाई मौलिक सम्वत घोषणा गर्नु पर्ने यायोक्खाले माग गरेको छ ।
यसैबीच यायोक्खाद्वारा आयोजित सभामा पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरुको स्मृति गर्दै श्रद्धाञ्जली सभा समेत आयोजना गरेको छ ।
यलम्बर सम्वत ५०८३ को अवसरमा किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिले मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ ।
किरातहरुले मान्दै आएको नेपालको प्राचीन तथा मौलिक सम्वत येलेदोङको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले मैत्रीपूर्ण फुटसल आयोजना गरिएको यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले बताए ।
आयोजित औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष राईले नेपालको प्राचीन, मौलिक सम्वत भएकाले यलम्बर सम्वतलाई राज्यले राष्ट्रिय सम्वतका रुपमा घोषणा गरी प्रचलनमा ल्याउनु पर्ने बताए । उनले वर्तमान सरकारले येलेदोङलाई मौलिक सम्वत घोषणा गर्नु पर्ने माग राखे ।
आयोजित मैत्रीपूर्ण फुटसल खेलमा किरात राई यायोक्खा- एन/ प्याब्सन सुनसरी र सुनसरी उद्योग वाणिज्य संघ- पत्रकार महासङ्घ सुनसरीबीच मैत्रीपूर्ण खेल भएको छ ।
खेलमा एन/ प्याब्सन सुनसरी र सुनसरी उद्योग वाणिज्य संघ बीच फाइनल खेलमा उद्योग वाणिज्य संघ विजयी भएको थियो । विजेतालाई किराया अध्यक्ष राजेन्द्र राईले ट्रफी वितरण गरे । प्रतियोगिता बिग फुटसल धरान १५ को सौजन्यमा भएको थियो ।