धरानः धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले वर्षेनी आयोजना गर्दै आएको अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता मङ्गलबारदेखि शुरु भएको छ ।
९ औं युनाइटेड गोर्खा एकेडेमी २०७८ नाम दिइएको प्रतियोगिताको नेपाल भलिबल एशोसियसन कमिटीका केन्द्रीय सदस्य तथा न्यू डाइमण्ड युथ क्लबका अध्यक्ष कुमार राईले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उनी नै कार्यक्रमको प्रमुख अतिथि थिए ।
युनाइटेड गोर्खा एकेडेमीका प्रिन्सिल पेम्बा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रस सोसाइटीका सभापति मुकेश थापा, एनप्याब्सनका धरान अध्यक्ष भगत लिम्बू, एनप्याब्सनका उपाध्यक्ष वसन राई, समाजसेवी भीम राई, निश्चल पलिखेलगायतको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य र कराँते समेत प्रदर्शन गरेका थिए ।
प्रतियोगिता हुनुअघि रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । रक्तदानमा विद्यार्थी, अभिभावक, अतिथि, समाजसेवी, महिला समूहका पदाधिकारीहरुले सहभागिता जनाएका थिए । रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत सङ्कलन भएको प्रिन्सिपल शेर्पाले जानकारी दिए ।
यसपटक युनाइटेड गोर्खा दुई टिम, तरहरा मोडल एकेडेमी, ज्ञान दर्पण एकेडेमी तरहरा, सयपत्री स्कुल इटहरी, चिल्ड्रेन्स एकाडेमी धरान, समिट स्कुल धरान, पूर्वाञ्चल स्कुल तरहरा, नमूना एकेडेमी स्कुल तरहरा, बाल विकास स्कुल इटहरी, हाम्रो बोर्र्डिङ स्कुल इटहरी, प्याराडाइज बोर्डिङ स्कुल तरहरा, जुनियर पायोनियर स्कुल धरान, सेक्रेट हार्ट स्कुल इटहरी, पुलिस स्कुल धरान, समिट स्कुल धरान, लर्ड बुद्ध एकाडेमी, धरान आदर्श, आइडियल स्कुल, डिपोट स्कुल, आवर होम स्कुल धरानलगायतको सहभागिता छ ।
सोमबार नै सम्पन्न प्रतियोगिताको पहिलो खेल युनाइटेड गोर्खा एकेडेमी र तरहरा मोडल एकेडेमी बीच भएको थियो । २४–२६, २५–१९ र २३–२५ को सेटमा तरहरा मोडल एकेडेमीले जित निकालेको छ ।
यस्तै, हाम्रो इ.बो. स्कुल र बाल विकासबीच भएको प्रतिस्पर्धामा २०–२५, १९–२५ को सेटमा बाल विकास विजयी बनेको छ । यस्तै, ज्ञानदर्पण र सयपत्रीबीच भएको तेस्रो खेलमा २१–२५, २५–२१, २५–१४ को सेटमा ज्ञानपर्दणले जीत निकालेको छ भने युनाइटेड गोर्खा बि र प्याराडाइजबीचको खेलमा २५–१२, २५–१८ को सेटमा युजीए बी विजेता बन्यो । यस्तै, युजिए बि र लर्ड बुद्धबीच सम्पन्न छात्रातर्फको पहिलो खेलमा २५–२०, २३–२५, १६–१४ को सेटमा युजिए बीले जीत निकालेको छ ।
प्रतियोगिता ६ गतेसम्म सञ्चालन हुने अध्यापक सन्तोष पोखरेलले जानकारी दिए । युनाइटेड गोर्खा एकेडेमीको स्कुल मैदानमा प्रतियोगिता आयोजना भइरहेको छ । ‘विद्यार्थीहरुको चौतर्फी विकास तथा पारस्परिक सम्बन्धको निरन्तरताको लागि खेलकुद’ भन्ने मूल नाराका साथ युनाइटेड गोर्खा एकेडेमी भलिबल कप आयोजना गरिएको प्रिन्सिपल शेर्पाले जानकारी दिए । शुरुमा पहिलो हुने टिमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारबाट शुरुवात गरिएको प्रतियोगिताको राशी पनि वृद्धि गरिँदै लगिएको प्रिन्सिपल शेर्पाले जानकारी दिए ।
छात्रछात्रा दुवैतर्फका बिजेतालाई २३ हजार रुपैयाँ, मेडल साथै प्रमाणपत्र प्रदान गरिने प्राचार्य शेर्पाले जानकारी दिए । यस्तै, उपबिजेता अर्थात् दोस्रो हुनेलाई १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । यस्तै, छात्रछात्रा दुवैतर्फ वेष्ट सर्भिस, वेष्ट डिफेन्स, वेष्ट लिफ्टर, वेष्ट स्पिकर, वेष्ट ब्लकर, वेष्ट प्लेयरलाई १२ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यापक सन्तोष पोखरेलले जानकारी दिए । यस्तै, छात्रछात्रा तुवैतर्फ अनुशासित टिमलाई ५ हजार नगद र प्रमाणपत्र साथै उत्कृष्ट टिम प्रशिक्षकलाई १५ सय रुपैयाँ प्रदान गरिने पनि उनले जानकारी दिए । यस्तै, प्रत्येक खेलमा एकजना खेलाडीलाई म्यान अफ दि म्याच घोषित गरिने खेल प्रशिक्षक तुलाराम राईले जानकारी दिएका छन् ।
८ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता २०७८ अन्तर्गत छात्रतर्फको उपाधि इटहरीको सयपत्री स्कुलले जितेको थियो । यस्तै, छात्रातर्फको उपाधि इटहरीको नमूना स्कुलले जितेको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज





































