धरानः धरान–५ देउरालीस्थित अँधेरी खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना उपमहानगरपालिकाले भत्काएको छ ।
एकाबिहानै नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मी डोजर लिएर पुगेर अवैधरुपमा बनेको घर भत्काइएको हो । उपमहानगरपालिकाले २ पटक घर नबनाउन र बनेको संरचना भत्काउने सूचना जारी गरेपनि अटेर गरेपछि प्रहरी टोली पुगेर घर भत्काइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
घर भत्काउनुअघि स्थानीय र प्रहरीको झडप समेत भएको थियो । झडपमा केही प्रहरीमाथि ढुंगा पनि लागेको थियो । स्थानीय एकजना घाइते समेत भएका छन् । ढुङ्गा प्रहारबाट उपमहानगरपालिकाको डोजरका सिसाहरू फुटेको छ ।
त्यहाँ बहुजातीय खेल मैदान बनाउने भनेर उपमहानगरपालिकाले नै अनुमति दिएको थियो । पूर्व वडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीय विरोधमा समेत उत्रिएका थिए । पहिला देखि नै सो जग्गाको भोगचलन गर्दै आएको भन्दै पूर्व वडाध्यक्ष लिम्बूले खोलाको भाग सीमांकन गर्नुपर्ने पनि माग राखेका थिए । यसअघि पनि प्रहरी सो स्थानमा सो संरचना भत्काउन पुगेको थियो तर तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।
उपनगरपालिकाले अवैध रूपमा अतिक्रमण गरेर घर नबनाउन भन्दै गत पुस १२ गते एक हप्ते नोटिस टाँसेर फर्किए पनि अटेर गरेर घर बनाएपछि पुस २९ गते भत्काउन भनेर डोजरसहित नगर प्रहरीको टोली त्यहाँ पुगेको थियो । तर, घर भत्काउने आदेशको माग गर्दै स्थानीयले विरोध गरेपछि त्यहाँबाट फर्किएकोउपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।
यसअघि पनि घर भत्काउन उपमहानगरको टोली आएपछि घर नभत्काउन अन्तरिम आदेश माग गर्दै स्थानीय मुना चौधरी लिम्बू जिल्ला अदालत पुगे पनि अदालतले निवेदकले मागे अनुरूप अन्तरिम आदेश जारी गरिरहनु नपर्ने भन्दै बताएको छ । ५ नम्बर वडा कार्यालयलाई विपक्षि बनाएर परेको निषेधाज्ञा मुद्दामा माघ ६ गते अधिवक्ता द्वय माधव प्रसाद कोइराला र प्रकाशराज ओझाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने भन्दै के कसो भएको हो रु निवेदकको माग बमोजिम आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारण खुलाउन १५ दिनको म्याद सहित आदेश जारी गरेको छ ।




