धरानः तामाङ समुदायले धरानमा धुमधामका साथ सोनाम ल्होछार पर्व मनाएका छन् ।
तामाङ समुदायले धरान–८ मा रहेको कार्यालयमा हर्षोल्लासपूर्ण सोनाम ल्होछार मनाएका हुन् । ल्होसारको अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ प्रमुख अतिथि थिए भने उपमहानगरकै उपमेयर अइन्द्रविक्रम बेघा विशेष अतिथि थिए । कार्यक्रममा धरान–८ का वडाध्यक्ष धनबहादुर राईलगायतको समेत उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले बहुजातीय, बहुभाषिक, बहुभार्मिक मुलुकमा सबै जातजातिको भाषा, धर्म, संस्कार, संस्कृतिको जर्गेना गर्नुपर्ने बताए । उनले संस्कार, संस्कृतिले पनि पर्यटक तान्दै आएको बताए । ‘पर्यटकहरु हिमालमात्रै हेर्न आउँछन् भन्ने होइन’, उनले भने, ‘यहाँ भएको भाषा, धर्म, संस्कार, संस्कृति बुझ्न पनि पर्यटकहरु आउँछन्, त्यसैले हामी लक्की छौं, संस्कार, संस्कृति बचाएर राख्नु नै बुद्धिमानी हुनेछ भन्ने मेरो बुझाइ हो ।’ आफूहरुले धरानमा श्रम अभियानबाट थुप्रै काम गरिरहेको बताउँदै मेयर साम्पाङले सबै धरानबासी यस्तो कामका लागि जुट्नु आवश्यक भइसकेको बताए ।
कार्यक्रममा बोल्दै उपमेयर अइन्द्रविक्रम बेघाले पुर्खाहरुले गरेको कामलाई स्मरण गर्दै सबै जातिले सांस्कृतिक पाटोलाई अघि बढाउँदै आएको बताए । उनले धरानमा सबै जातजातिहरु मिलेर बसेको बताउँदै सबै जातजातिको चाडपर्वलाई उत्तिकै सम्मान गर्दै अघि बढिरहनु सुखद् भएको बताए ।
आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमा पनि मनाउने गर्दछन् । उनीहरुका अनुसार २८५९ औं वर्ष शुरु हुँदै गाई वर्ष पूरा गरी बिरालो वर्ष शुरु भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्छोसार मनाउने गरिएको नेपाल तामाङ घेदुङ धरानका अध्यक्ष अध्यक्ष याम गोलेले जानकारी दिए । कार्यक्रममा युनाइटेड डान्स एकेडेमीका कलाकारहरुले सांस्कृतिक नृत्य पस्किएर भरपुर मनोरञ्जन दिएका थिए ।
तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्व सोनाम ल्होछार भएको सल्लाहकार नन्दलाल तामाङले जानकारी दिए । घरघरमा छोरीचेली, छोराछोरी, बुहारी साथै अन्य आफन्तजनलाई डाकेर खानपिन, नाचगानको कार्यक्रम राखिने गरिएको उनले जानकारी दिए ।
तामाङ समुदायका बालबालिका, किशोरकिशोरीदेखि वृद्धवृद्धाहरू समेत धरानमा भेला भएका थिए । यसअघि धरानका विभिन्न स्थानमा रयाली, झाँकीसहितको प्रदर्शनी पनि आयोजना भएको थियो । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको र सोहीअनुसार मनाइँदै अँएको जनाइएको छ । तस्वीरहरुः हाम्रो कोशी आवाज






































