धरानः धरानमा पनि सरस्वती पूजा धुमधामसाथ मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको मङ्गलबार धुमधामका साथ धरानमा विभिन्न स्कुलले सरस्वती पूजा मनाएका छन् ।
धरानका विभिन्न सरकारी विद्यालय, कलेज तथा निजी विद्यालय, प्लस टु, साहित्यिक संस्था, संगीत कला संस्थालगायतले सरस्वती पूजा धुमधाम साथ मनाएका छन् । आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वती पूजाकै दिनदेखि अक्षरराम्भ गराउने चलन पनि छ ।
श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास छ । आजकै दिन धरानका विभिन्न स्कुलहरुले नयाँ भर्ना पनि खुलाएका छन् । अधिकांश स्कुलले नयाँ भर्ना निःशुल्क गराएका हुन् । त्यसैले पनि धरानका अधिकांश अभिभावक साना, साना बालबालिकासँगै उपस्थित थिए ।
आजकै दिनबाट सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । यस दिन विवाह, ब्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई अक्षरराम्भ गर्नुका साथै नाक, कान छेडिदिने पनि गरिन्छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र वुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । सरस्वती पूजा या श्रीपञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन हो ।
हेरौं केही तस्वीरहरुः
धरान–१६ स्थित युएन, नवोदय स्कुल, कलेजका विद्यार्थी, अभिभावक र शिक्षक–शिक्षिकाले यसरी मनाए सरस्वती पूजा ।


























































