धरान: धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधीकालागी वडा नं. १५ र १७ भिड्ने भएका छन् ।
आज धरान रंगशालामा भएको खेलमा वडा नं. १६ लाई ३–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा फाइनलमा प्रवेश गरेको छ । यस अघि वडा नं. ५ लाई पराजित गर्दै १५ नं. वडा फाइनलमा प्रवेश गरिसकेको छ ।
आज भएको खेलमा वडा नं. १७ कालागी मिलन राईले दुई गोल गरे भने सुशिल राईले एक गोल गरे । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा १७ नं. वडाले ३ गोल गरेको थियो । दोस्रो हाफको ७ मिनेटमा नै १७ नं. वडाले पेनाल्टी मार्फत् अग्रता लिएको थियो । १७ नं. वडाका मिलन राईलाई डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा मिलन राईले गोल गरे । दोस्रो हाफको १७ मिनेटमा सुशिल राईले अग्रता दोब्बर बनाए भने २७ औं मिनेटमा मिलन राईले उत्कृष्ट गोल गरे ।
खेलको म्यान अफ द म्याच १७ नं. वडाका सुशिल राई घोषित भए । उनलाई नगद २५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो ।
शनिबार धरान रंगशालामा वडा नं. १५ र १७ बिच फाइनल खेल हुनेछ । १७ नं. वडाले गोधुलीको उपाधी तीन पटक उचालेको छ भने १५ नं. वडाले एक पटक उपाधी उचालेको छ । १५ नं. वडा गतवर्षको स्व. सुवास राई स्मृति फुटबल लिगको विजेता समेत हो ।
पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो भन प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेका छन् ।