धनकुटाः धनकुटामा जारी धनकुटामा महोत्सवमा भागदौड हुँदा १७ जना घाइते भएका छन् भने तीनजना गम्भीर घाइते समेत बनेका छन् । झडपपछि भागाभाग हुँदा घाइते भएका हुन् । धरानको बिपी प्रतिष्ठानमा उपचाररत दुई जनाको अवस्था चिन्ताजनक रहेको छ।
गायक प्रमोद खरेल सहभागी हुने कार्यक्रममा टिकटका विषयमा विवाद भएपछि भागदौड मच्चिएको थियो । भागदौड हुँदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मी अधिकारीले जानकारी दिए । गम्भीर घाइतेमध्ये ६ वर्षीय बालकको अवस्था अझ गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते भएकामध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको उनले बताए । प्रहरीका अनुसार धरानमा ८ जना उपचार भइरहेको छ । राति प्रमोदले सांगीतिक प्रस्तुति दिने कार्यक्रम थियो । उनी सहभागी हुने कार्यक्रममा दर्शकको भिड बढेको थियो । उनले प्रस्तुती दिनेक्रममा भागदौड मच्चिएको थियो ।
अत्यधिक मात्रामा आएका दर्शकलाई आयोजकले टिकट नकाटी भित्र पस्न नदिएपछि गेटमा भीड हुँदा चेपिएर धेरैजसो घाइते भएका हुन् ।
सांगीतिक कार्यक्रम सकिएपछि हाउजी खेलमा भने निःशुल्क रूपमा प्रवेश पाउने आशामा कार्यक्रम स्थलको गेटमा सर्वसाधारण बसेका कारण भीड भएको हो । भीड बढी भएपछि पनि महोत्सव आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको थियो । झडपपछि भागाभाग मच्चिएको प्रत्यक्षदर्शीले बताएका छन् ।