धरानः धरान–१२ स्थित धरान मेघा–हिमालयन कलेजले विभिन्न प्रतियोगितामा बिजेता खेलाडी विद्यार्थी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।
धरान मेघाले मंगलबार एक कार्यक्रमको आयोजना गरी कलेजका विद्यार्थीमाझ खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरेका थिए ।
कलेजले भर्खरै सम्पन्न हिसान स्पोर्टस मिटमा आयोजना भएका बास्केटबलका पुरुष टिम बिजेता, महिला टिम उपविजेता, फुटबल खेल विजेता, टेबलटेनिस विजेता, भलिबलतर्फ उपबिजेता पुरुष टिम, वक्तृत्वकलामा दोस्रो, व्याडमिन्टनमा तेस्रो र नृत्यतर्फका चौथो हुने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
यसैगरी किरात नयाँ वर्ष ५०८३ को अवसरमा आयोजित यलेदोङ ओपन बास्केटबल च्याम्पियन महिला बास्केटबल टिम, होलिल्याण्ड बास्केटबल च्याम्पियन पुरुष टिम, एनप्याव्सन बास्केटबल च्याम्पियन पुरुष टिम, मेयर कप फुटबल च्याम्पियन, अखिल फुटबल कप च्याम्पियन, धरान उपमहानगर वक्तृत्वकला च्याम्पियन, सुनौलो पुस्तकालय वक्तृत्वकला दोस्रो हुने खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
खेलाडीसँगै प्रशिक्षकहरुमा बास्केटबल प्रशिक्षक विवेक श्रेष्ठ, फुटवल प्रशिक्षक खेम गुरुङ, व्यवस्थापक विवेक पाण्डे, भलिवल प्रशिक्षक तुलाराम राई र नृत्य प्रशिक्षक दिवस श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बू, प्राचार्य भाष्कर पौडेल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेमलगायतले अविर र खदा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बिजेता तथा उपबिजेता खेलाडीहरुले कलेज र विद्यालयका विद्यार्थीहरुलाई आफूले जितेका ट्रफी र मेडल प्रर्दशन गर्दै खुशियाली मनाएका थिए । मेघा कलेजले पढाइसँगै विद्यार्थीको इच्छा र क्षमताअनुसार अतिरिक्त क्रियाकलापलाई पनि उति नै महत्वका साथ अघि बढाउँदै आएको अध्यक्ष कैलाश लिम्बूले बताए ।



