Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सास्ती दिने सडक धमाधम कालोपत्रे

हाम्रो कोशी आवाज
माघ २३ २०७९, सोमबार
धरानको सास्ती दिने सडक धमाधम कालोपत्रे

धरानः विशेषतः पर्यटकीय सम्भावना बोकेको धरान-२० विष्णुपादुका क्षेत्र वर्षेनी राज्यको ध्यान नदिँदा पछाडि नै परेको छ ।
धरानको धेरै क्षेत्रफल समेत ओगटेको सो क्षेत्रमा अहिलेसम्म सडक कालोपत्र नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । धरान–२० लाई ‘पर्यटन गाउँ’ पनि भनिन्छ तर सडककै कारण पछाडि समेत परेको छ ।
हाल देवीगाउँ–भज्याङ सडक धमाधम कालोपत्र हुँदैछ । प्रदेश र संघको करिब एक करोड रुपैयाँ साथै थप संघको थप ९७ लाख रुपैयाँको लागतमा धमाधम सडक कालोपत्रे भइरहेको वडाध्यक्ष पदमबहादुर लिम्बूले जानकारी दिए । गएको वर्ष सो सडक ३ सय मिटर कालोपत्रे भएको थियो ।
सो वडामा प्रसिद्ध धार्मिकस्थल विष्णुपादुका, कोकाह, चिण्डेडाँडा, ऐतिहासिकस्थल साँगुरीगढी र सुलिकोटलगायतका रमणीयस्थल रहेका छन् । विसं २०७१ मङ्सिर २६ गते सरकारको निर्णयानुसार छुट्टै गरेको विष्णुपादुका गाविसलाई धरान उपमहानगरपालिकामा गाभिएपछि वडा नं २० मा बनेको हो ।
पदमार्ग, क्यानोनिङ, प्याराग्लाइडिङ, साइक्लिङलगायत सम्भावना भएको विष्णुपादुकामा उद्योगधन्दा, कलकारखाना पनि स्थापना गर्ने धरानका मेयर साम्पाङले योजना बनाएका छन् । उनले त्यहाँ साबुन, बेसार फ्याक्ट्री निर्माण साथै टर्वाइनबाट बिजुली निकाल्ने योजनामा समेत रहेको बताए ।
विष्णुपादुका जस्तो पौराणिम महत्व बोकेको मन्दिर पनि यही भएकोले धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको ठाउँका रुपमा लिइन्छ । सहरमा गाभिएपछि सडक पक्की बन्ने भएपछि स्थानीयको सपना पूरा हुने आशा रहेको वडाध्यक्ष लिम्बूले बताए । हरेक निर्वाचनमा उम्मेदवारहरुले विष्णुपादुकामा पक्की सडक निर्माणको कुरा गरेपनि चुनाव जितेपछि प्रतिबद्धता बिर्सिदा यतिका वर्ष सो सडकले गर्दा स्थानीयले सास्ती खेप्दै आएका थिए ।

प्रकाशित मिति: माघ २३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend