धरानः धरान बास्केटवल संघको आयोजनामा फागुन ५ गतेदेखि हुन लागेको दोस्रो प्रदेश १ अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताका प्राविधिक टिमका लागि धरान–९ स्थित मेहर कलेक्सनले दश थान जर्सी प्रदान गरेको छ ।
मेहर कलेक्सनका सञ्चालक मेहेरलाल श्रेष्ठले आइतबार आफ्नै पसलमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीलाई करिव १५ हजार रुपैयाँ बराबरको जर्सी हस्तान्तरण गरेका थिए । कलेक्सनले २०५८ सालदेखि खेलकुदका सामग्री होलसेल र रिटेल गर्दै आइरहेको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा प्रदेश १ भरिबाट पुरुषतर्फ १२ टिम र महिला तर्फ ८ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
बास्केटबल खेल र खेलाडीलाई व्यावसायिकता प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको सम्पूर्ण खेल धरान–१६ स्थित धरान रंगशालाको कर्भडहलमा सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ २३ वर्षमुनिका सम्मले मात्र सहभागिता जनाउन पाउनेछ भने महिलातर्फ भने उमेर खुला गरिएको छ ।
प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फका बिजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि बिजेता र हाइस्कोररले ट्रफी र प्रमाणपत्रसहित नगद पुरस्कार र उदयीमान खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री–पोइन्ट कम्पिटिसन हुनेछ । कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान १५ निवासी नेपालका चर्चित गायक तथा पूर्व बास्केटवल खेलाडी प्रकाश पौडेलले प्रायोजन गरेका हुन् ।
प्रविधिकलाई जर्सी हस्तान्तरण कार्यक्रममा प्रदेश १ बास्केटवलका राष्ट्रिय प्रशिक्षक विबास चाम्लिङ राई, राष्ट्रिय रेफ्री शिशिर पोख्रेल, युगल लिम्बू, मनुहाङ राई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजनमा धरान २ स्थित अल्फा विटा कोयोला एजुकेसन कन्सलटेन्सी रहेको छ ।