धरानः धरान–१७ मा खाना पकाउने ग्यास सिलिन्डरबाट ‘ग्याँस लिकेज’ भएर आगलागी हुँदा ८ जना घाइते भएका छन् । ८ जनाकै उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।
सोमबार करिब ५ बजेतिर ग्यास लिक भएर आगोको लप्का उठेपछि जलेर ८ जना घाइते भएका हुन् । धरान १७ को आदर्श चोकस्थित स्थानीय सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्याँस लिक भएपछि उनीहरूले कोशी ग्याँस डिलरका कर्मचारीलाई बोलाएका थिए । दुईजना कर्मचारी आएर ग्याँसको सिलिन्डर चेकजाँच गर्दागर्दै ग्याँस एक्कासी चुहिन पुगेको थियो ।
त्यसक्रममा घरधनीकी छोरी २७ वर्षीया सविता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय सांकेन राई, १० वर्षीय सुमिहाङ राई, ग्याँस डिलरका कर्मचारी धरान–११ बस्ने १९ वर्षीय अनीश कार्की र सिरहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका थिए ।
घाइतेमध्ये दुईजना बालबालिका डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । दुईजनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई एयर एम्बुलेन्समार्फत् कीर्तिपुरस्थित वर्न हस्पिटल लैजाने तयारी भइरहेको डिएसपी मल्लले जानकारी दिए । उनका अनुसार सोनिका राई र सविता राईलाई एयर एम्बुलेन्समार्फत् थप उपचारका लागि कीर्तिपुर लगिनेछ ।
घरमा राखिएको ग्यास सिलिन्डर भने जस्ताको त्यस्तै अवस्थामा छ । ग्याँस लिक भएर विष्फोट हुँदा घरमा आल्मुनियमको झ्यालको शिशा, आल्मुनियमको फ्रेम नै बारीतिर पुगेको थियो भने ग्रिलसमेत बाङगिएको अवस्थामा छ । झयाल, ढोका सबै थुनिएको कारण ग्यास भरिएर विष्फोट भएको अनुमान प्रहरीले गरेको छ ।