भोलि हुने कन्सर्टमा उधुम मच्चाउने
धरानः चर्चित गायक राजेशपायल राई धरान आएका छन् ।
शुक्रबार साँझ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा चलिरहेको लागूऔषधविरुद्धको अभियानमा पनि उनले सहभागिता जनाएका छन् । ‘से नो टु ड्रग्स’ कार्यक्रममा सहभागिता जनाएका उनले लागूऔषध सेवन नगर्न आग्रह समेत गरे । मेयर साम्पाङले लागूऔषधबारे सचेतना फैलाइसक्ने वित्तिकै उनी एक्कासी धरान आइपुगेका थिए । मेयर र गायक राईबीच भेट भएपछि दुवैको खुशीको सीमा रहेन । उनीहरु दुवैले एकअर्काको तारिफ गरेका थिए ।
धरान–१६ स्थित धरान रंगशालामा भइरहेको ‘धरान एक्स्पो’ मा आयोजित कन्सर्टका लागि उनी धरान आएका हुन् । भोलि ६ बजे उनी धरान रंगशालामा उत्रिनेछन् । उनले दर्जनौं नयाँ, पुराना गीतहरु पस्किनेछन् । सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पो अहिले चलिरहेको छ । एक्स्पो फागुन २० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
एक्स्पोमा दिउँसो २ बजेसम्म प्रवेश निःशुल्क रहनेछ भने २ बजे पछिको प्रवेशमा ५० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । यस्तै, सांगीतिक कार्यक्रम रहँदा २ सय रुपैयाँ टिकटदर तोकिएको छ । कार्यक्रममा हरेक दिन राष्ट्रिय कालाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।


