धरानः धरानमा २३ औँ संस्करणको अन्तर्राष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकप शनिबारदेखि शुरु भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन खेल शनिबारदेखि शुरु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर साम्पाङले खेलकुदलाई व्यवसायिक बनाउन आफू बढीजसो लागिपर्ने बताए । उनले खेलकुदको विकासका लागि राज्यले ध्यान दिनुपर्ने समेत बताए । ‘अहिले खेल खेलेर चुल्हो समेत नबल्ने अवस्था छ’, उनले भने, ‘त्यसको लागि राज्यले यसतर्फ ध्यान दिनुपर्छ ।’
उनले स्थानीय सरकारले आगामी वर्षमा अझै बजेट बढाएर भरपुर सहयोग गर्ने बचन पनि दिए । उनले धरान फुटबल क्लब उपमहानगरपालिकाले आयोजना गर्नुपर्ने कुरा अँइरहेको बताउँदै यसको लागि वडाध्यक्ष, कार्यपालिका सदस्यहरु सकारात्मक रहेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले फुटबल खेल खेलिसकेपछि जीवनयापन गर्न सक्ने हैसियत बनाउन सबैपक्ष लाग्नुपर्नेमा जोड दिए ।
यसैबीच शनिबार भएको खेलमा आयोजक धरान फुटबल क्लब ५–३ गोल अन्तरले बाहिरिएको छ । पाहुना टोली युकेएफसी भारतको खर्साङसँग पेनाल्टीमा ५–३ गोल अन्तरले पराजित भएको हो । निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । जीतसँगै खर्साङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
टाइब्रेकरमा धरानका रिवस मास्केको प्रहार खार्साङका गोल किपर मनोज प्रधानले रोकेका थिए । खार्साङका आकाश प्रधान, सुब्रतो सोरेन, सिद्धान्त क्षेत्री, साहिल साही र क्याप्टेन राज राउतले गोल गर्न सफल बने भने धरानका दोर्जे शेर्पा, मदन लाबुङ र रोमन लिम्बूले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच खर्साङका गोल किपर मनोज प्रधान घोषित भए । उनलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो । उदघाटन खेलको म्यान अफ द म्याचलाई द ब्याण्ड अफ ब्रिगेड गोर्खाले २५ हजार रुपैयाँ पुरस्कार दिएको थियो भने नगद १० हजार धरान फुटबल क्लबले प्रदान गरेको थियो ।
भोलिको दोस्रो खेल अफ्रिकन क्लब एभिनियर एफसी र बागमती युवा क्लब बीच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता यही फागुन १३ गतेदेखि २० गतेसम्म धरान रंगशालामा हुनेछ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।
तस्वीरहरुः लक्ष्मण थापा, हाम्रो कोशी आवाज
























