धरानः धरानमा ग्याँस लिक भएर विष्फोट हुँदा घाइते भएकी एक युवतीको मृत्यु भएको छ ।
गएको फागुन ९ गते धरान–१७ आदर्श चौकमा भएको ग्याँस लिक भएर ग्याँस विस्फोट भएर आगलागी हुँदा घाइते भएर काठमाडौंमा उपचाररत २२ वर्षीया सोनिका राईको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।
दुईजना बालबालिका पहिला नै डिस्चार्ज भइसकेका थिए भने ६ जनाको कीर्तिपुरस्थित हस्पिटलमा उपचार भइरहेको थियो । बाँकी ५ जनाको अहिले पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विष्फोटमा सोनिकासँगै घरधनीकी छोरी २७ वर्षीया सविता राई, कोठा भाडामा बस्ने ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय सांकेन राई, १० वर्षीय सुमिहाङ राई, ग्याँस डिलरका कर्मचारी धरान–११ बस्ने १९ वर्षीय अनीश कार्की र सिरहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका थिए ।
धरान–१७ को आदर्श चोकस्थित स्थानीय सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्याँस लिक भएपछि उनीहरूले कोशी ग्याँस डिलरका कर्मचारीलाई बोलाएका थिए । दुईजना कर्मचारी आएर ग्याँसको सिलिन्डर चेकजाँच गर्दागर्दै ग्याँस एक्कासी चुहिन पुगेको थियो ।
घरमा राखिएको ग्यास सिलिन्डर भने जस्ताको त्यस्तै अवस्थामा छ । ग्याँस लिक भएर विष्फोट हुँदा घरमा आल्मुनियमको झ्यालको शिशा, आल्मुनियमको फ्रेम नै बारीतिर पुगेको थियो भने ग्रिलसमेत बाङगिएको अवस्थामा थियो । झयाल, ढोका सबै थुनिएको कारण ग्यास भरिएर विष्फोट भएको अनुमान प्रहरीले गरेको छ ।