भाँजो हाल्न खोजेका थिए, सत्यको जीत भएको छः मेयर साम्पाङ
धरानः ‘माया धराने’ नामक साबुन उद्योग सञ्चालनका लागि निर्माणस्थलविरुद्ध वन कार्यालयले दायर गरेको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ ।
धरानमा साबुन उद्योग खोल्नका लागि कार्यपालिका बैठकले निर्णयअनुरुप भवन निर्माणका लागि धरान–२० मा भवन निर्माणका लागि धमाधम काम भइरहेको थियो । उद्योग निर्माणस्थलविरुद्ध वन कार्यालयले रिट दायर गरेको थियो । सोमबार उच्च अदालतले मुद्दाको सुनुवाई गर्दै रिट खारेज गर्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलाशले रिट खारेज गर्ने फैसला गरेको अधिवक्ता स्वागत नेपालले जानकारी दिए । सो फैसला उच्च अदालतको वेभसाइटमा समेत राखिएको छ ।
फैसलासँगै अब धरानमा माया धराने नामक साबुन उद्योग खोल्न सकिनेछ । गत मङ्सिर २९ गते सब डिभिजन कार्यालय विष्णुपादुका र डिभिजन वन कार्यालय सुनसरीका तर्फबाट डिभिजन वन अधिकृत भीमबहादुर कालिकोटेले रिट दायर गरेका थिए । उनले मेयर साम्पाङ र धरान उपमहानगरपालिकालाई विपक्षी बनाएका थिए ।
उद्योग स्थापना गर्ने भनिएको स्थान वन कार्यालयले दावी गर्दै आएको थियो । त्यहाँ यसअघि नै धेरै श्रमदाताहरु लागेर गिटी कुट्ने काम अघि बढिसकेको थियो ।
मेयर साम्पाङले दबावमा परी कसैले भाँजो हाल्न खोजेको तर सत्यको जीत भएरै छाडेको प्रतिक्रिया दिएका छन् । ‘कसैले भाँजा हाल्नै खोजेका थिए’, उनले भने, ‘तर सत्यको जीत भएरै छाडेको छ, अब उद्योगको काम सुचारु हुन्छ ।’