गम्भीर घाइतेको उपचार हुँदै, खुकुरी प्रहार गर्ने तीनजना तत्कालै समातिए, ६७ सवारी साधन नियन्त्रण
धरानः धरानमा होलीमा खुकुरी प्रहारबाट एकजना घाइते भएका छन् ।
धरान–३ स्थित माछाभौडीमा खुकरी प्रहार हुँदा एक किशोर घाइते भएका हुन् । घाइते हुनेमा धरान–५ बस्ने वर्ष १८ को बिकसन परियार रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । घाइते परियारको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको उनले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको र हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने तीनजनालाई पक्राउ पनि गरिसकिएको उनले जानकारी दिए । पक्राउ पर्नेहरुमा धरान–१५ बस्ने वर्ष १९ को रोशन तामाङ, धरान–५ बस्ने वर्ष १६ को सन्देश मगर, धरान–५ कै वर्ष २२ को गणेश राई रहेको उनले जानकारी दिए । युवतीलाई जिस्क्याएको निहुँ र रिसइवी साँध्ने उद्देश्यले खुकुरी प्रहार हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
यसपटकको होलीमा ६७ वटा मोटरसाइकल र स्कुटी नियन्त्रणमा लिइएको उनले जानकारी दिए । उच्छृङल तवरले होली खेलेको साथै सार्वजनिक ठाउँमा हो–हल्ला गर्ने, हेल्मेट नलगाउनेहरु बढी छन् । नियन्त्रणमा लिइएकाहरुलाई सम्झाइबुझाइ छाडिसकिएको पनि उनले जानकारी दिए ।