धरानः धरान-१६ लेखनाथ चोकमा सञ्चालन हुँदै आएको नवोदय विद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुल (कक्षा-१० सम्म) बिहीबारदेखि अन्नपूर्ण चोकमा रहेको युएन नवोदय कलेजको भवन परिसरमा सरेको छ ।
अब कलेजका अध्यक्ष तथा प्राज्ञिक व्यक्तित्व एशोसिएट प्रोफेसर ज्ञानेश्वर झा र युएन, नवोदय कलेजका क्याम्प प्रमुख तथा प्रिन्सिपल डम्बरकुमार तुम्बापोको प्रत्यक्ष निगरानीमा पठनपाठन हुनेछ । यसअघि कलेज र स्कुल दुईतिर हुँदा विशेषगरी स्कुलतर्फ (कक्षा-१० सम्म) भनेजस्तो रेखदेख गर्न असुविधा भएकोले स्कुल र कलेज एकै ठाउँमा सञ्चालन गरिएको क्याम्पस प्रमुख तथा प्रिन्सिपल तुम्बापोले जानकारी दिए । ‘स्कुल र कलेज एकै ठाउँ भएपछि सबै कुरा राम्रोसँग रेखदेख र उचित हेरविचार गर्न सजिलो भएको छ, अब एशोसिएट प्रोफेसर, क्याम्पस प्रमुख साथै कोअर्डिनेटरको प्रत्यक्ष निगरानीमा रहन्छ’, उनले भने ।
कलेजमा अब प्ले ग्रुपदेखि ब्याचलर तहसम्म एउटै छानोमुनी पठनपाठन हुने युएन कलेजका क्याम्पस प्रमुख एवम् नवोदय विद्या मन्दिर बोर्डिङका प्रिन्सिपल तुम्बापोले जानकारी दिए । अब देखि यु.एन. नबोदय कलेजमा पिजि देखि कक्षा-१०, नवोदय प्लस टु अन्तर्गत म्यानेजमेन्ट, होटल म्यानेज्मेन्ट, साइन्स र कम्प्युटर साइन्स र ब्याचलरतर्फ बिबिएस र बिएचएमको पढाइ हुने भएको छ ।
लगनशीलताका साथ अध्ययन गरी आफ्नो र विद्यालयको नाम उच्च राख्न कलेजका अध्यक्ष ज्ञानेश्वर झाले विद्यार्थीहरुलाई शुभकामना दिएका थिए । प्रिन्सिपल तुम्बापोले सुविधासम्पन्न भवनमा कम्प्युटर ल्याब, साइन्स ल्याबलगायत अन्य सुविधासहित पठनपाठन थालिएको जानकारी दिए । उनले अतिरिक्त क्रियाकलापसँगै गुणस्तरीय शिक्षामा आफूहरुको जोड रहिरहने बताए ।


































