धरानः धरान-११ स्थित लिवर्टी रेसिडेन्सियल स्कुलले सांस्कृतिक प्रदर्शनीलगायतको कार्यक्रम आयोजना गरेको छ ।
सोमबार विद्यालय परिसरमा अभिभावकहरुको बाक्लो उपस्थितिमा सो कार्यक्रम राखेको हो । धरान-११ का वडाध्यक्ष लोकेन्द्र फागोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय हाताभित्र नवनिर्मित प्ले जोनको उद्घाटन समेत गरेका थिए । लिवर्टी स्कुलले अतिरिक्त क्रियाकलापका साथै गुणस्तरिय शिक्षा प्रदान गर्नमा ठूलो योगदान पुरयाएको प्रमुख अतिथि फागोले बताए ।
प्ले ग्रुपदेखि कक्षा–५ सम्मका विबद्यार्थीहरुलाई खेल्नका लागि प्ले जोन निर्माण गरिएको स्कुलका प्रिन्सिपल भगत लिम्बूले जानकारी दिए । अभिभावकहरुलाई मनोरञ्जन प्रदान गर्न र विद्यार्थीहरुका प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको स्कुलका निर्देशक तेजमान लिम्बूले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले समेत मन्तब्य राख्दै यस्ता सांस्कृतिक कार्यक्रमले विद्यालय र अभिभावकहरुबीचको सम्बन्ध सुमधुर हुने बताए । स्कुलका भाइस प्रिन्सिपल धीरेन लिम्बूले स्कुलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै असल संस्कार र अनुशासनमा पनि उत्तिकै जोड दिएको बताए ।
अभिभावकहरुको तर्फबाट पेमा तामाङले मन्तब्य ब्यक्त गरेका थिए । विद्यार्थीहरुको जग बलियो भयो भने मात्र भविष्य उज्ज्वल हुने अभिभावक तामाङले बताए । कार्यक्रममा स्कुलका शिक्षक र विद्यार्थीहरुले सन्देसमूलक लोकदोहोरी प्रस्तुत गरे । अहिलेका नयाँपुस्ताका विद्यार्थीहरुलाई आफ्नो परम्परागत कला, संस्कार, संस्कृतिको कसरी जगेर्ना गर्नुपर्छ भन्ने सन्देश दिनका लागि लोकदोहोरी प्रस्तुत गरिएको स्कुलका भाइस प्रिन्सिपल लिम्बूले बताए ।
कार्यक्रम अवधिभर विद्यार्थीहरुले फेसन शो, आकर्षक नृत्य, र गीत प्रस्तुत गरे । कार्यक्रमको सञ्चालन शिक्षकद्वय अनिता भुजेल र अरुण राईले गरे । तस्वीरहरुः तिर्थ कार्की



