धरानः जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालय सम्हाल्ने भएका छन् ।
पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने गरी सरकारमा पठाउने निर्णय गरेको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले पाएका दुई मन्त्रालयमध्ये एउटामा नाम टुंग्याउन नसकेपछि दुवै मन्त्रालयको जिम्मेवारी दिइएको हो । जसपाका संघीय परिषद् अध्यक्ष राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा जितेका हुन् । नेकपा एमालेको समर्थनमा राईले १७ हजार ५९ मत ल्याएका थिए ।
एमालेमा हुँदा दुई पटक मन्त्री बनिसकेका उनी लामो समयपछि बल्ल मन्त्री बनेका हुन् । तेस्रो पटक मन्त्री हुन उनले १९ वर्ष कुर्नु प¥यो । २०७४ मा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लडेका राईले प्रतिनिधिसभाको चुनावमा ७७ हजार ९० मतमध्ये २२ हजार १२३ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । उनलाई कांग्रेस पार्टीले पनि साथ दिएको थियो । २०७० को दोस्रो संविधानसभा चुनावको ६५ सिटमा संघीय समाजवादीले उम्मेदवारी दिए पनि प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न सकेको थिएन । यद्यपि समानुपातिकबाट ५ वटा सिट ल्याउन सफल भएको थियो र उनी आफू पनि समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।
उनको यस्तो लोकप्रियता थियो कि उनी आफ्नो राजनीतिक जीवनमा कहिल्यै पनि चुनाव हारेका थिएनन् । २०४८ र २०५१ सालमा खोटाङबाट उनी चुनाव जितेका थिए । २०५६ को चुनावमा उदयपुर झरेपछि प्रत्यक्ष चुनाव जित्नका लागि २४ वर्ष कुर्नु परेको थियो । २०३३ सालमा तत्कालीन कोअर्डिनेशन केन्द्रका नेता अमृत बोहराबाट पार्टी सदस्यता लिएर उनले राजनीतिक यात्रा सुरु गरेका थिए । २०५४ मा एमाले विभाजन हुँदा उनी मालेतर्फ गए । पछि २०५९ मा वामदेव गौतमसँगै उनी एमालेमा फर्केका थिए ।
२०४८ को निर्वाचनमा तत्कालीन पूर्वाञ्चलमा ओखलढुंगा र सोलुखुम्बुबाहेक अन्यत्र एमालेले सानदार नतिजा ल्याएपछि उनको कामबाट तत्कालीन महासचिव मदन भण्डारीसमेत प्रभावित थिए । राई विचारमा भने अडान राख्ने नेता हुन् । २०४९ को पाँचौँ महाधिवेशनमा उनै भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको पक्षमा उनी गएनन् । उनी सीपी मैनालीले अघि सारेको परिमार्जित नौलो जनवादको पक्षमा उभिए ।