Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भोलि कोकाह खानेपानीका लागि ‘बबाल कन्सर्ट’, चर्चित कलाकारहरु आजै धरान आउँदै

हाम्रो कोशी आवाज
चैत्र २४ २०७९, शुक्रबार
धरानमा भोलि कोकाह खानेपानीका लागि ‘बबाल कन्सर्ट’, चर्चित कलाकारहरु आजै धरान आउँदै

धरानः भोलि अर्थात् शनिबार धरानमा सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ ।
धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए । ‘पूर्वमै पहिलोपल्ट यस्तो स्टेज बनाउँदैछौं कि जुन कार्यक्रमका लागि पनि भव्य हुनेछ’, उनले भने, ‘अहिले स्टेज निर्माण, सरसफाइलगायतका कार्यक्रम चलिरहेको छ ।’
उनका अनुसार कन्सर्टको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । राष्ट्रियस्तरका आधा कलाकार आजै धरान आउनेछन् भने आधा कलाकार भोलि धरान आउने उनले जानकारी दिए । उनका अनुसार आजै राजेशपायल राई, एकदेव लिम्बू लगायतको कलाकारको उपस्थिति हुनेछ ।
कोकाहा खानेपानीको लागि धरानमा च्यारिटी कन्सर्ट हुन लागेको हो । कन्सर्टमा चर्चित एवं वरिष्ठ गायक दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, एकदेव लिम्बू, एपी शेर्पा, डिल्ली फोम्बो, रोहित मास्के र वाकिङ क्लाउण्ड ब्याण्डको पनि प्रस्तुति हुनेछ । यो कन्सर्टको लागि यी सबै कलाकारहरुले पारिश्रमिक पनि नलिने पनि घोषणा गरिसकेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले यो कन्सर्ट अलि फरक हुने बताए । कन्सर्टबाट उठेको रकमले कोकाहा खानेपानीको लागि आवश्यक पर्ने पाइप खरिद गरिने बताए । उनका अनुसार पाइपका लागि मात्रै करिब तीन करोड बढी खर्च हुने अनुमान छ । कन्सर्टबाट करिब ५० लाख बढी रकम उठ्ने अनुमान गरिएको छ ।
कन्सर्टकी संयोजक, समाजसेवी एवं गीतकार मीना सिंगकले खानेपानी योजनाको लागि भएकोले सबैलाई सहयोग गरिदिन आग्रह गरिन् । उनका अनुसार कन्सर्टकै लागि हङकङबाट १० लाख बढी आइसकेको छ ।
कन्सर्टको लागि नर्मल २ सय, ५ सय, १ हजार र भिआइपी टिकट ७ हजार १२१ (एउटा पाइप बराबर) को रहेको छ । कन्सर्टकै दिन गेटमा ३ सय रुपैयाँको टिकट बिक्री हुने आयोजकले जनाएको छ ।
मेयरमा निर्वाचित साम्पाङले श्रमदान अभियानमार्फत् पानी जोहो गर्न मरिहत्ते गरिरहेका छन् । कोकाह प्रोजेक्ट एउटा सफल प्रोजेक्टका रुपमा लिइएको उनले जानकारी दिए । उनका अनुसार कोकाहको पानी धरान आइपुगे ९० प्रतिशत धरानको खानेपानी समस्याको हल हुनसक्छ । यो अभियानका लागि अहिले पनि आर्थिक सहयोग जुट्नुका साथै र श्रमदान चलिरहेको छ ।

 

प्रकाशित मिति: चैत्र २४ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend