धरानः कोकाह खानेपानी सहयोगका लागि धरान–१२ स्थित सुनाखरी एकेडेमीका डाइरेक्टर, प्रिन्सिपल साथै शिक्षकहरुले आफ्नो तलब काटेर सहयोग गरेका छन् ।
शुक्रबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको कोकाह खानेपानीको लागि उनीहरुले सहयोग गरेका हुन् । प्रिन्सिपल मिलनकुमार राईका अनुसार स्कुलले पनि केही सामाजिक काम गर्नुपर्दछ भन्ने हेतुले ५० हजार रुपैयाँ नगद सहयोग गरिएको जानकारी दिए । ‘यो त समग्र धरानबासीको लागि आउने खानेपानी हो, यसको लागि सबैजना मिलेर केही तलब दिएका हौं ।’ उनले भने ।
कोकाहको खानेपानी आयोजनाका लागि अहिले पनि देशविदेशबाट सहयोग जुटिरहेको छ । मेयर साम्पाङले समग्र धरानबासीको खानेपानीको लागि अभियान चालिएको र धरानबासी पनि जुटिरहेको बताएका छन् ।
