धरानः आज धरानमा सहयोगार्थ कन्सर्ट आयोजना हुने भएको छ ।
धरान–१२ स्थित पब्लिक हाइस्कुलमा हुने कन्सर्ट अहिलेसम्मकै भव्य हुने व्यवस्थापक सिल्भर इन्टरटेन्मेन्टका डाइरेक्टर सौरभ श्रेष्ठले जानकारी दिए । उनका अनुसार कन्सर्टको तयारी पूरा भएको छ । कोकाहा खानेपानीको लागि धरानमा च्यारिटी कन्सर्ट हुन लागेको हो । कन्सर्टमा चर्चित एवं वरिष्ठ गायक दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, एकदेव लिम्बू, एपी शेर्पा, डिल्ली फोम्बो, रोहित मास्के र वाकिङ क्लाउण्ड ब्याण्डको पनि प्रस्तुति हुनेछ । यो कन्सर्टको लागि यी सबै कलाकारहरुले पारिश्रमिक पनि नलिने पनि घोषणा गरिसकेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले यो कन्सर्ट अलि फरक हुने बताए । कन्सर्टबाट उठेको रकमले कोकाहा खानेपानीको लागि आवश्यक पर्ने पाइप खरिद गरिने बताए । कन्सर्टको लागि नर्मल २ सय, ५ सय, १ हजार र भिआइपी टिकट ७ हजार १२१ (एउटा पाइप बराबर) को रहेको छ । कन्सर्टकै दिन गेटमा ३ सय रुपैयाँको टिकट बिक्री हुने आयोजकले जनाएको छ ।
